काठमाडौँ । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरण अभियोगमा आज (आइतवार) कास्की जिल्ला अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामछिाने विरुद्ध मुद्धा दर्ता भएको छ ।
३ महिना लामो प्रहरी अनुसन्धान पछि उनीविरुद्ध ३ वटा अभियोगमा मुद्दा दर्ता भएका छन् । मुद्दा दर्ता हुनुअघि रविले प्रहरी र जिल्ला सरकारी वकिल कार्यालयमा दिएको बयानलाई अभियोगपत्रमा समेटिएको छ ।
अभियोगपत्रका अनुसार रविले आफ्ना सबैखाले संलग्नताको अस्वीकार गरेका छन् । उनी संलग्न भएको आर्थिक कारोवारमा भने उनले अनुमानका भरमा उत्तर दिएका छन् । उनका अधिकांश उत्तरहरु हुनसक्छ र हुनुपर्छ भन्नेमा टुंगिएको देखिएको छ ।
यस्तो छ अभियोगपत्रमा रविको बयान
मिति २०७७।०३।३१ गते सहकारीमा नामथर रवि लामिछाने, ठेगाना पोखरा ८ सृजनाचोक लेखेर रु.१,००,००,०००.०० (एक करोड) ऋण देखाइएको भन्ने कुरा यसै वित्तीय विश्लेषण र संसदीय समितिमा बयान दिन जाँदाको क्रममा आधिकारिक रूपमा थाहा पाएको, सहकारीबाट रकम लिने कार्यमा म कुनै पनि किसिमबाट संलग्न नरहेको र सहकारीको रकम मैले उपभोग समेत नगरेको हुँदा सहकारीको रकम फिर्ता गर्ने जिम्मेवारी मेरो रहँदैन, सहकारी संस्थाबाट मैले ऋण लिएको भए ऋण तथा ब्याज तिर्नको लागि पत्र तथा ताकेता आउनुपर्ने थियो, गैर कानूनी ढंगबाट ऋण लिइएको मलाई जानकारी छैन, मलाई जानकारी भएको खण्डमा यिनिहरूको कर्तुत बाहिर आउने डर समेत राखि योजनाबद्ध र गोप्य रूपमा गैरकानूनी तरिकाले हिसाब मिलान गरी अर्को वर्षलाई समेत Capitalize गरिएको रहेछ भन्ने उल्लेख गरेको, रवि लामिछानेको नाउँमा सहकारीको कम्प्युटर लेखा प्रणाली सिष्टममा अभिलेखिकरण गरिएको रवि लामिछानेको नाम उल्लेख भई खोलिएको बचत र ऋण खाता मेरो उपस्थिति, मन्जुरी र जानकारीमा खोलेको अवस्था नभएको तथा उक्त खाता खोल्दा कम्प्युटर प्रणालीमा पूर्ण विवरण समेत भरेको नपाइएको हुँदा सो खाता म रवि लामिछानेको हुने कुरै भएन, म सम्बद्ध गोर्खा मिडियाले मेरो जानकारी, सहमति, उपस्थिति वा योजनामा कुनै पनि सहकारी संस्थाबाट पैसा लिने लिखित वा मौखिक कुनै प्रकारको सहमति, सम्झौता, करार गरेको थिएन, उनीहरूले गरेको लगानीको स्रोत सहकारी संस्थाबाट आएको भन्ने कुरा स्थापित हुने कुनै आधिकारिक दस्तावेज गोर्खा मिडियामा प्राप्त छैन / थिएन, गोर्खा मिडियामा प्रवन्ध निर्देशकको आधिकारिक जिम्मेवारी मिति २०७७/०९/२५ को निर्णय बमोजिम मिति २०७७।०९।३० गते नियुक्ति पत्र सहित दिइएको थियो, गोर्खा मिडिया नेटवर्कको कार्यकारी अध्यक्ष गितेन्द्र बाबु राई समेतले मलाई टेलिभिजनमा लैजादै गर्दा १५% स्वेट शेयर, आकर्षक एडभान्स र तलब सहितको सेवा सुविधा दिने भनि विश्वास दिलाई सहमति र सम्झौता समेत गरी लैजानु भएको कारण कम्पनीको सञ्चालकहरू गितेन्द्र बाबु राई र छविलाल जोशीले शेयर बाँडफाँडको कार्य गर्दै रहँदा सहमति र सम्झौता अनुसार मलाई मिति २०७७ साल चैत्र महिना देखि १५% शेयर सदस्यमा समेत राख्नु भएको उल्लेख गरेको ।
उक्त कम्पनीमा मिति २०७१।०३।०१ गते सम्म रही मलाई कम्पनीबाट उपलब्ध गराईएको निःशुल्क शेयरलाई कुनै पनि पैसा नलिईकन जस्ताको तस्तै कार्यकारी अध्यक्ष गितेन्द्र बाबु राईलाई फिर्ता गरी कम्पनी रजिष्ट्रारको कार्यालयबाट आधिकारीक रूपमा शेयर सदस्यबाट र कार्यकारी अध्यक्ष गितेन्द्र बाबु राईको सल्लाह बमोजिम नै टेलिभिजनबाट प्रवन्ध निर्देशकको जिम्मेवारीबाट समेत राजिनामा दिएर अलग भएको, म सार्वजनिक जीवन बाचेको मानिस हुँ, मेरा स-साना कुरा त लुक्दैनन् भने यति ठूलो कुरा कसरी लुक्न सक्छ ? सहकारीमा मेरो कुनै पनि किसिमको संलग्नता थिएन र छैन त्यसैले सहकारीबाट रकम गोर्खा मिडियामा लगिएको भन्ने विषय मेरो जानकारीमा रहने कुरा थिएन र छैन, कम्पनीको आधिकारिक लेखा परीक्षण प्रतिवेदनले भन्छ मेरो कार्यकालमा कम्पनीमा आएको रकमको स्रोत कार्यकारी अध्यक्ष गितेन्द्र बाबुराईले उपलब्ध गराएको निर्व्याजी Short Term Loan हो । न गुनासो, न समाचार, न उजुरी, न मुद्दा, न लुकाएर खोलिएको कम्पनी यस्तो अवस्थामा सहकारीको रकम आएको भन्ने कुरा विश्वास गर्ने वा आशंका गर्ने कुनै आधार र कारण देखिदैन थियो । गोर्खा मिडियामा ल्याउने कुरामा मेरो व्यक्तिगत र संस्थागत संलग्नता नभएको भनिसकेपछि म निर्दोष रहेको यसैबाट प्रमाणित हुन्छ । मैले ग्यालेक्सी टेलिभिजनको आफ्नो कार्यक्रमको पहिलो श्रृंखलामा भनेको थिए “ आज वाचा गर्छुकी, Galaxy 4K का कुनैपनि पत्रकारलाई कुनैपनि किसिमको सम्पादकिय हस्तक्षेप हुनेछैन। मैले बोक्नुपर्ने वा ठोक्नु पर्ने कोही कोही पनि छैनन् । जनता बाहेक कसैलाई रिजाउनु छैन ।
। यस टेलिभिजनका सञ्चालककै विषयमा पनि छाति ठोकेर रिपोर्टिङ गर्ने हाम्रा सबै पत्रकारहरू सदासर्वदा स्वतन्त्र छन् । देशका अन्य सञ्चार माध्यमले पनि रिपोटिङ गरे त्यसको जवाफ दिन यसका सञ्चालकहरूलाई हात समातेर आफै लिएर आउँछु, बहसमा सहभागी गराउछु । गलत प्रमाणित भए १ मिनेट भित्र कि उहाँहरू ग्यालेक्सीमा रहन्न कि म रहन्न' भनी उल्लेख गरेको, टेलिभिजन स्थापना हुँदा ५ करोडको पुँजी रहेकोमा टेलिभिजनको लागि आवश्यक पर्ने ऋण बैंकबाट लिने भन्ने विषयमा कुरा हुँदा गितेन्द्र बाबु राई र छविलाल जोशीले पुँजी वृद्दी गरी १२ करोड गराउनु भएको भन्ने मेरो बुझाई छ । ५ करोड पुँजी हुँदाकै अवस्थामा मलाई गितेन्द्र बाबु राईले ७५ लाख निजको व्यक्तिगत बैंक खाता मार्फत मेरो खातामा जम्मा गराई उपलब्ध गराएकोमा मैले सो रकम मेरो ग्लोबल आईएमई बैंकको खाताबाट गोर्खा मिडियाको ग्लोबल आईएमई बैंकमा जम्मा गरि १५% को शेयर सदस्य भएको हुँ । यो रकम मलाई १५% शेयर दिने सहमति बमोजिम सोही प्रयोजनमा हिसाब मिलाउने उद्देश्य मात्रले मलाई प्राप्त भएको हो । मेरो लगानी होइन । पछि पुँजी वृद्दी गरी १२ करोड बनाईएपछि मेरो भागमा परेको शेयर बापतको रकम १ करोड ८० लाख निज गितेन्द्रले के कसरी व्यवस्थापन गरी मिलाएका थिए ।
सुप्रिम बचत तथा ऋण सहकारी संस्था बुटवलमा रवि लामिछानेको नाममा मिति २०७७।१२।१८ मा २ करोडको ऋण खडा गरी गोर्खा मिडिया नेटवर्क प्राईभेट लिमिटेडको नाममा ग्लोबल आइएमई बैङ्कको खातामा सोही मिति (३१ मार्च २०२१) मा उक्त रकम मध्ये १ करोड ९६ लाख रकम Roshani Gurung को नामबाट जम्मा भएको रकम सम्वन्धमा गितेन्द्र बाबु राईले प्रतिवद्धता गरेको रकम उनले के कसरी मिलाए त्यसको थाहा जानकारी थिएन भन उल्लेख गरेको, गोर्खा मिडिया नेटवर्क प्रा. लि. को ग्लोबल आईएमई बैंकको खाता नं. 0040010000577 को खाता टेलिभिजन सञ्चालन प्रयोजनार्थ र समझदारी बमोजिम म News 24 TV छाडे पश्चात खाता खोल्दा भरिएको KYC मा भएको दस्तखत नमुना, तस्विर समेत देखाउँदा हेरी चिन्हें ।
उक्त दस्तखत मेरो हो भनी सनाखत गरी दिएको । गोर्खा मिडिया स्थापना गरी सञ्चालनको लागि सम्पूर्ण आर्थिक रकम ल्याई लगानी गर्ने जिम्मेवारी कार्यकारी अध्यक्ष गितेन्द्र बाबु राईको रहेकोले उहाँले गोर्खा मिडिया प्राईभेट लिमिटेडको ग्लोबल आईएमई बैंकमा रहेको उक्त खातामा जम्मा गराउनु भएको सो रकम के कसरी कहाँबाट ल्याउनु भएको हो मलाई थाहा थिएन । म उक्त कम्पनीमा रहँदाको अवधीमा खातामा निजले जम्मा गराएको रकम निजले जग्गा विक्री गरी ल्याएको भन्ने सुनेको, थप रकम नेचर हर्वस, नेचर नेष्ट जस्ता कम्पनी सञ्चालन गरेर नाफा रकम भित्र्याएको, व्यक्तिगत तवरबाट कम्पनीमा लगानी गरेको भन्ने कम्पनीको वार्षिक लेखा परीक्षण प्रतिवेदनको क्रममा निजले लगानीको स्रोत देखाउँदा थाहा पाएको थिए । त्यही प्रमाणित दस्तावेजमा यही तथ्य बुझी मैले लेखा परीक्षण प्रतिवेदनमा हस्ताक्षर गरेको हुँ।
बैंकमा खाता खोल्ने क्रममा बैंकिङ प्रचलन अनुसार गर्ने र खातामा जम्मा भएको रकम मुद्रा निर्मलीकरण गरी लागूपदार्थको कारोबार, मानव वेचविखन र संगठित अपराध लगायतका अवैध स्रोतबाट आर्जन भएको होइन भन्ने घोषणा गरी गराई दस्तखत गराइन्छ सोही अनुसार म समेतले उक्त खाता खोल्दा ती नियमहरू पालना गर्ने प्रतिवद्धता व्यक्त गरी दस्तखत गरिएको थियो । मैले व्यक्तिगत रूपमा उक्त खातामा कुनै पनि किसिमको अवैध कारोबार गरेको थिईन/छैन। गितेन्द्र बाबु राईले सहकारीबाट उक्त खातामा रकम जम्मा गराएको भन्ने कुरा तत्कालिन समयमा र कम्पनी छोडेको लामो समय सम्म पनि मलाई थाहा जानकारी नभएको हुँदा यस कसूरमा मेरो संलग्नता हुने कुरा रहँदैन । सहकारीको बचत रकम ल्याउने, राख्ने, चलाउने लगायतको कार्य गर्न सम्बन्धित सहकारीको सदस्य हुनु पर्ने हुन्छ तर म कुनै पनि सहकारी संस्थाको सदस्य नभएकोले यसमा मेरो संलग्नता पुष्टी हुने कुरा पनि छैन । सहकारीबाट के-कुन तवरबाट रकम ल्याइएको थियो यो कुरा गितेन्द्र बाबु राईलाई थाहा हुनुपर्छ किनभने निज सूर्यदर्शन सहकारीको पूर्व अध्यक्ष र सञ्चालक रहेको कुरा थाहा भएकोले यसको सम्पूर्ण जिम्मेवारी निजकै र अरु कोही छन् भने तिनिहरूको समेत रहन्छ । सहकारीको बचत रकम हानी नोक्सानी पुऱ्याउने र हिनामिना एवम् अपचलन गर्ने कार्य मबाट भएको होइन ।
गोर्खा मिडिया नेटवर्क प्राईभेट लिमिटेडको नाममा ग्लोबल आइएमई बैंकमा रहेको खातामा २०७७ माघ ८ (22 January 2021) मा ७५ लाख जम्मा रकम गितेन्द्र बाबु राईबाट सम्झौता र समझदारी बमोजिम मेरो १५% स्वेट ईक्विटीको लागि लिइएको हो । उक्त रकम छोटो समयमा नै गोर्खा मिडिया नेटवर्क प्राईभेट लिमिटेडको बैंक खातामा जम्मा गरेको हुँ । कम्पनी ऐन, २०६३ को दफा १८ को दफा २ बमोजिम संस्थापक वा अन्य कुनै व्यक्तिले नगद बाहेक अन्य कुनै किसिमबाट शेयर खरिद गर्ने वा शेयर हक पाउने भए सो कुरा, कम्पनीको कारोबार शुरू हुँदाका बखत संस्थापक वा कुनै व्यक्तिबाट कुनै किसिमसँग कुनै सम्पत्ति प्राप्त गर्ने भए सो कुरा र संस्थापक वा अन्य कुनै व्यक्तिले कम्पनीबाट कुनै विशेष सहुलियत वा अधिकार पाउने भए सो कुरा प्रबन्धपत्रमा उल्लेख गरेको हुनुपर्नेछ भन्ने कानूनमा स्पष्ट व्यवस्था रहेकोमा स्वेट इक्विटी एउटा समझदारीको आधारमा तय गरिएको हो । यस सम्बन्धी कानूनी अस्पष्टता र जटिलताका कारण प्रवन्धपत्र नियमावलीमा उल्लेख नभएको हुन सक्छ ।
मिति २०७९।०३।०२ गते कम्पनी रजिष्ट्रार कार्यालयबाट प्राप्त भएको शेयर बिक्री लिखतमा गोर्खा मिडिया नेटवर्क प्राईभेट लिमिटेडको नाममा रहेको शेयर बापतको रकम रु. १ करोड ८० लाख बुझिलिएको सम्वन्धमा भनी ५ करोड शेयर पुँजी हुँदा नि-शुल्क रूपमा १५% शेयरको लागि ७५ लाख रुपैयाँ उहाँले नै मेरो बैंक खातामा उपलब्ध गराउनु भएकोमा पछि कम्पनीको शेयर पुँजी १२ करोड बनाउँदाको क्रममा सोही ७५ लाखको शेयर रकमको भ्यालु बढेर १ करोड ८० लाख पुगेकोमा सोही रकम मेरो ग्लोबल आईएमई बैंकको खाता नं. 00307010005913 मा सो रकम बराबरको चेक जम्मा (डिपोजिट) गराएपनि सो चेकमा लेखिएको रकम खातामा नभएको कारण तत्कालै उक्त रकम मेरो खाताबाट रिभर्स भएको शेयर खरिद विक्री गर्दा म र गितेन्द्र बाबु राईबीच मिति २०७१।०२।३१ गते भएको लिखत कागजको सहिछाप देखाउँदा हेरी पाएँ सहीछाप मेरो हो ।
गोर्खा मिडिया नेटवर्क प्राईभेट लिमिटेडको नाममा सिद्धार्थ बैंकमा रहेको खाता नं. ००११५९७८०९७ को खाताको कारोबार विवरणहरू मध्ये मिति २०७७/०६/११ (2020-09-27) मा रु.३५,००,०००/- (पैतिस लाख) को रकम गोर्खा मिडिया नेटवर्क अन्तर्गतको Galaxy 4K TV का उपकरणहरू अर्डर भएको तर नआई सकेको अवस्थामा आवश्यक इक्युपमेन्ट, जनशक्ति लगायतको कन्सल्टेन्सी टि.भि. फिल्मीले उपलब्ध गराएको कारण पेश्की स्वरुप गोपीकृष्ण मुभिजको तत्कालिन अध्यक्ष निकिता पौडेललाई उपलब्ध गराइएको रकम हुनुपर्छ ।
सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट बचत रकमलाई निर्मलीकरण गरी गोर्खा मिडिया नेटवर्क प्राईभेट लिमिटेडको खातामा जम्मा गर्नको लागि नाम उल्लेख भएका व्यक्तिहरू मध्ये विपिन कुमार आचार्य गोर्खा मिडिया नेटवर्क प्राईभेट लिमिटेडको तत्कालिन अवस्थाको क्रियटिभ डाइरेक्टरको रूपमा कार्यरत कर्मचारी हुन् । साथै उनि सम्बद्ध कम्पनी नोबडी प्रोडक्सन प्राईभेट कम्पनी लिमिटेडसँग गोर्खा मिडिया नेटवर्कले विभिन्न अन्तराष्ट्रिय फ्रेन्चाईज रियालिटी शोहरू खरिद गरी प्रशारण गर्ने सम्झौता समेत गरेको थियो । उनिसँग गोर्खा मिडिया नेटवर्कले गरेको कारोबार सम्झौता बमोजिम नै गरेको हुनु पर्छ ।
सहकारी संस्था बचत रकम दुरुपयोग सम्वन्धी, संसदीय विशेष छानबिन प्रतिवेदन, २०८१ मा गोर्खा मिडिया नेटवर्क प्राईभेट लिमिटेडको खातामा सूर्यदर्शन, सुप्रिम, सानो पाइला, स्वर्णलक्ष्मी, समानता, सहारा सहकारीबाट रू.२२,४६,३०,०००.०० ( वाईस करोड छयालिस लाख तिस हजार) जम्मा भएको रकम समेतको रकम सम्वन्धमा कसूर गर्नेहरूले मलाई गुमराहमा राख्ने अनेकौ प्रपन्च गरेको कुरा उनीहरूले गरेको ऋण मिलान (Capitalize), किर्ते हस्ताक्षर, तथ्याङ्क प्रविष्ट (Data Entry) जस्ता कार्यहरूले प्रमाण सहित बोलेका छन् । यसर्थ यो वा यस्तो कार्यमा मेरो सहभागिता छैन भन्ने कुरा छर्लङ्ग छ भन्ने उल्लेख गरेको, गोर्खा मिडिया नेटवर्क प्राईभेट लिमिटेडको काम कारवाहीका सिलसिलामा आफ्नो कार्यकालमा गरिएका खर्चहरू बारे म जवाफदेही हुनुपर्छ । कम्पनीबाट जति पनि रकम खर्च गरिएको छ सबै रकम कम्पनीको प्रवन्धपत्र नियमावलीलाई टेकेर कम्पनीको बोर्ड बैठक लगायत सञ्चालकहरूको बैठकबाट पारित गरेर र आवश्यकता अनुसार कार्यकारी अध्यक्षको अनुमति र निर्देशनमा मात्र खर्च भएको छ ।
गोर्खा मिडियामा आएको लगानी सहकारीबाट आएको भन्ने कुनै आधार, प्रमाणहरू तत्कालिन अवस्थामा थिएनन् यसर्थमा पनि टेलिभिजन सञ्चालनको क्रममा गैर कानूनी कार्यबाट आर्जित भन्ने आधार, कारण, प्रमाण नभएको अवस्थामा यसले विशुद्ध रूपमा आफ्नो कार्यक्रमको गुणस्तर देखाई आर्जित गरेको रकमलाई अन्यथा भन्न मिल्दैन । कम्पनीको लागि ऋण लिने प्रकृयाको लागि म एक पटक नेपाल बैंकमा पुगेको सम्म हो । कम्पनीको कार्यकारी अध्यक्षले आफ्नो उपस्थिती नजनाएपछि सो कार्यलाई स्थगित गरिएको अवस्था थियो । तत् पश्चात बैंक तथा वित्तीय संस्थाबाट ऋण लिने कुनै कार्य म कम्पनीमा रहँदा सम्म भए गरेको छैन सहकारीको रकम अपचलन गर्नमा मेरो कुनै पनि किसिमको मिलेमतो संलग्नता रहेको छैन ।
उल्लिखित ऐन, कसूर गर्नेहरूको लागि आकर्षित हुन्छ । सहकारीको रकम मेरो पेटमा एक रुपैयाँ वरावर पनि परेको छैन । सहकारीको रकम अपचलन गर्नमा मेरो संलग्नता नभएको कुरा संसदीय छानबिन विशेष समितिले पेश गरेको प्रतिवेदनमा समेत स्पष्ट रूपमा उजागर भई सकेको अवस्था छ । म यी कसूरमा कही कतै, कुनै पनि तवरबाट संलग्न छैन / थिइन । गोर्खा मिडिया नेटवर्कमा म कर्मचारीको रूपमा मात्र प्रवेश गरी लगानीकर्ताले सित्तैमा उपलब्ध गराएको १५% शेयर प्राप्त गरी आफ्नो पदिय हैसियत र गोर्खा मिडियाले उपलब्ध गराएकाे सेवा सुविधा र तलवमा मात्र अापफ्रनाे जसम्मेवारी अनुसारकाे काम गरेकाे हुँ ।
पैसा यसका सञ्चालकहरूबाट आयो, राज्यको निकायलाई कर तिरेका हुन्छन्, लेखा परीक्षण स बुझाएका हुन्छ भन्ने कुरा पनि बुझाई राख्नु ? ।। मैले पैसा लगाएर पार्टनरसीप लिएको होईन । मैले काम गरेबापत थोरै शेयर र पैसा लिए । लिएको त्यही पैसा मेरो शेयर भयो” । भन्ने सम्वन्धमा ग्यालेक्सी टि.भि. उच्च प्रविधिका साथ खुल्दै गरेको सार्वजनिक गरिएसँगै म यसको सञ्चालक हुने कुरा समेत सार्वजनिक भएको थियो । त्यस अवस्थामा ग्यालेक्सी टेलिभिजन सम्बद्ध अन्य सञ्चालकबारे आम मानिसलाई धेरै थाहा थिएन । त्यसैले मलाई लक्षित गरी मैले नै लगानी गरेर टेलिभिजन खुलेको पो हो की भनेर एक चिरपरिचित सञ्चारकर्मीका हिसावले टेलिभिजन खोल्ने पैसा कहाँबाट आयो भनी मलाई प्रश्नहरू सोधिन्थ्यो । तिनै प्रश्न र जिज्ञासालाई पहिलो कार्यक्रम मार्फत जानकारी दिने उद्देश्यले मैले स्पष्ट पार्दै भनेको हुँ की यसको लगानीकर्ता म होईन, मैले त आफ्नो लोकप्रियता र मेहनतलाई शेयर मानी काम गरेको हुँ, टेलिभिजन खोल्ने पैसा यसका सञ्चालकहरूले ल्याएका हुन् भनि जिम्मेवार भई जानकारी गराएको हुँ ।
गोर्खा मिडिया नेटवर्क प्राईभेट लिमिटेडको ग्लोबल आईएमई बैंक लिमिटेडमा रहेको खाता नम्बर ०४०१०१००००५७७ बाट भुक्तानी कारोबारको लागि प्रयोग गरिएका चेकहरू मध्ये चेक नम्बर 0044447706 बाट सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको नाउँमा काटिएको रु. १,१२,०००/- चेक देखाउँदा हेरी पाएँ। उक्त चेकमा भएको दस्तखत बैंकबाट भेरिफाई गरिएको हो भने मेरो हो । ग्लोबल आईएमई बैंक लिमिटेडबाट च.नं. ३९३८ मिति २०८१/०७/०८ गतेको पत्रसाथ प्राप्त भएको गोर्खा मिडिया नेटवर्क प्राईभेट लिमिटेडका चेक तथा भौचरहरू एवम् ECC INFORMATION REPORT समेत अध्ययन गर्दा गोर्खा मिडिया नेटवर्क प्राईभेट लिमिटेडको नाममा रहेको ग्लोबल आईएमई बैंक लिमिटेडको खाता नम्बर ०४०१०१००००५७७ का चेकहरूबाट सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको नाममा रु. 31,33,644.16 (३१ लाख ३३ हजार ६४४ रूपैयाँ) सो कारोबारको प्रकृति हेर्दा मासिक रूपमा रु.११२,०००.०० (एक लाख बाह हजार) का दुईवटा र रु.२,२४०००. (दुई लाख चौबिस हजार) को एउटा चेकबाट नियमित भुक्तानी दिएको देखिन्छ भन्ने सम्वन्धमा गोर्खा मिडियाले कुनै पनि व्यक्ति वा संस्थालाई भुक्तानीका लागि चेक दिने एउटा निश्चित प्रणाली थियो ।
जसमा कार्यकारी अध्यक्ष गितेन्द्र बाबु राईको पुर्ण नियन्त्रण र उहाँले सञ्चालन गरेको जि. वि. ग्रुप अफ कम्पनीजले यसको पुरै निगरानी गरी कारोवार गर्ने गरेको थियो । विभिन्न चरणमा त्यसलाई रुजु गर्ने, गितेन्द्र बाबु राईको अनुमति लिने जस्ता चरणहरू पार गरेर मात्रै उहाँको निर्देशनमा उहाँले सञ्चालन गरेको जि. वि. ग्रुप अफ कम्पनीजको लेखा अधिकृत रविना रिमाल नाम गरेकी कर्मचारी मार्फत सिफारिस भएर आएका चेकहरूलाई गोर्खा मिडियाको लेखा अधिकृतले जनरल भौचरमा उल्लेख गरी आफू तथा गोर्खा मिडियाको अप्रेसन प्रमुख पुष्पराज गिरी मार्फत भेरिफाई गराएपछि मात्र चेकमा दस्तखत गर्नको लागि म कहाँ आउने प्रावधान र प्रणाली थियो ।
लेखा परीक्षण प्रतिवेदनमा पनि सहकारीसँग ऋण लिएको कतै उल्लेख छैन । नयाँ कम्पनीमा कयौँ व्यक्ति, भेण्डर, वित्तीय संस्थाहरूलाई उनीहरूसँग गरिएको सम्झौता एवम् कार्यकारी अध्यक्ष तथा लगानीकर्ता गितेन्द्र बाबु राईको निर्देशनमा अनगिन्ती चेकहरू मार्फत भुक्तानी गएको थियो । हरेक भुक्तानीको प्रकृया लगानीकर्ता गितेन्द्र बाबु राईले आफ्नो नियन्त्रणमा राखी तह तहमा भेरीफाई (क्लियरिङ) गरी चेक जारी वा हस्ताक्षर गराउथे । हरेक चेकहरूसँग ती चेकहरू दिनु पर्ने कारण सहितको सपोर्टिङ डकुमेण्ट, विल भौचर हुन्थे अथवा त्यस्तो नभएको अवस्थामा कार्यकारी अध्यक्षको निर्देशनबाट पनि चेकहरू दिइने प्रचलन हुन्थ्यो । त्यसमाथि मेरो कार्यकालमा उल्लिखित सहकारीहरूबाट कुनै ऋण लिने निर्णय भएको छैन, सहकारीबाट रकम ल्याउने विषयमा मसँग औपचारिक वा अनौपचारिक रूपमा सञ्चालक कोही कसैले कुनै पनि तवरबाट जानकारी वा सूचना गराईएको छैन/ थिएन ।
त्यसैले सहकारीलाई नै गोर्खा मिडियाले चेक दिदाँ पनि कुनै ऋणको साँवा, व्याज वा किस्ता हो भन्ने बुझ्नु पर्ने एउटा पनि आधार र कारण थिएन । कुनै सहकारीबाट ऋण तिर्नु भन्ने कुनै सूचना, जानकारी, पत्र लगायतको कुनै ताकेता भएको अवस्था समेत थिएन । मलाई लाग्छ प्रस्तुत चेकहरू या त मैले माथि उल्लेख गरे जस्तै मैले विश्वासमा हस्ताक्षर गरेर छोडेको खाली चेकहरूको दुरुपयोग हो, या त लगानीकर्ता गितेन्द्र बाबु राईको निर्देशन बमोजिम मेरो जानकारी विना मलाई समेत झुक्यानमा वा पहिला मलाई चेकमा दस्तखत गराई पछि सहकारीको नाउँ लेखेर भुक्तानी गराई मलाई समेत गुमराहमा राख्ने कार्य गरेको चेकहरू हुन सक्छन् ।
उक्त रकम कम्पनीमा कामको चाप र उपत्यका वाहिरको यात्रा गर्नु पर्दाको क्रममा कम्पनीको काम नरोकियोस भन्ने उद्देश्यले मैले कतिपय अवस्थामा कम्पनीका सञ्चालक समेतको निर्देशनमा विश्वास गरी खाली चेकमा समेत दस्तखत गरेर छाड्ने गरेको थिए । ति चेकहरूको दुरुपयोग गरी कम्पनीले सहकारी संस्थाको बैंक खाता लगायतमा चेक जम्मा गरेको भए मलाई थाहा हुने विषय थिएन । तर गोर्खा मिडियाले कुनैपनि सहकारी संस्था, व्यक्ति र कम्पनीसँग ऋण लिने भनि सम्झौता तथा वोर्ड निर्णय नगरेकाले उपरोक्त भुक्तानीहरू मेरो जानकारीमा रहेसम्म कुनै ऋणको किस्ता, साँवा वा व्याज होइनन् ।
मिति २०८१।०५।३१ गते प्रतिनिधिसभा बैठकपछि नयाँ बानेश्वर स्थित संघीय संसद भवन परिसरमा सहकारी संस्था बचत रकम दुरूपयोग सम्वन्धी विशेष छानबिन प्रतिवेदन, २०८१ को सम्बन्धमा गोर्खा मिडियाको वार्षिक परीक्षण प्रतिवेदनमा समेत सहकारीबाट ऋण लिएको विषय कही कतै कुनै पनि तवरबाट उल्लेख छैन / थिएन । त्यसैले गोर्खा मिडियाबाट मेरो स्पष्ट जानकारी वेगर भए गरेका भुक्तानीहरू कुनै ऋण वापतको भुक्तानी भन्ने कुनै आधार कारण देखिदैन । उक्त अभिव्यक्तिमा भनेको कुरा म फेरीपनि दोहोराएको छु की मैले उल्लिखित सहकारीहरूबाट ऋण लिएको छैन । इलाका प्रहरी कार्यालय बुटवलबाट प्राप्त भएको GB GROUP OF COMPANY LTD वाट बरामद भएको कागजातहरू मध्ये सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड समेतबाट गोर्खा मिडिया नेटवर्क प्राईभेट लिमिटेडमा गएको रकमको सम्बधमा जि. वि. ग्रुप अफ कम्पनीज प्राईभेट लिमिटेडमा के कस्ता विवरणहरू, के कस्ता आधारबाट राखिन्छन् भन्ने वारे मलाई जानकारी भएन ।