Odapalika - The Fourth Estate - चौथो अंग
सूर्यदर्शन सहकारीको रकम दुरुपयोगमा जिबीलाई पनि उछिने रविले, एक्लैले लगे ४० प्रतिशत रकम

काठमाडौँ । पूर्वउपप्रधान तथा गृहमन्त्री एंव रास्वपा सभापति रवि लामिछानेविरुद्ध सहकारी ठगीसहितको अभियोगमा मुद्दा दर्ता गरिएको छ । कास्कीकाे पोखरास्थित सूर्य दर्शन सहकारीबाट अपचलन गरी गोर्खा मिडिया नेटवर्कमा रविसहितले रकम लगेको दाबीसहित आइतबार रविसहितका व्यक्तिविरुद्ध सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधको कसूरमा जिल्ला अदालत कास्कीमा अभियोगपत्र दर्ता गरिएको हो । 

जिल्ला सरकारी वकिलको कार्यालयले पेस गरेको अभियोगपत्रमा रवि लामिछाने गोर्खा मिडिया नेटवर्क प्रा.लि.मा सञ्चालक तथा प्रवन्ध निर्देशक रहेको अवस्थामा सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा जम्मा भएको सर्वसाधारको निक्षेप रकम अपचलन गरी गोर्खा मिडियाको नाममा ६ करोड ६१ लाख जम्मा भएको देखिएको दाबी गरिएको छ । 

जसमध्ये सबैभन्दा धेरै रविको नाममा सूर्यदर्शनको पैसा गोर्खा मिडियामा ४० प्रतिशत रकम लगिएको अभियोगपत्रमा दाबी गरिएको छ । सूर्यदर्शनबाट गोर्खा मिडियामा रविको नामबाट २ करोड ६२ लाख ६५ हजार रुपैयाँ लैजाँदा गितेन्द्रबाबु राई (जीबी राई)को नामबाट २ करोड ५० लाख ३३ हजार ३३३ रुपैयाँ ३३ पैसा लगिएको अभियोगपत्रमा उल्लेख छ । 

यसैगरी, सूर्यदर्शन सहकारीबाट छबिलाल जोशीको नाममा ९२ लाख ६५ हजार रुपैयाँ, कुमार रम्तेलको नाममा २७ लाख ६८ हजार हजार ३३३ रुपैयाँ ३३ पैसा र जी.बी. ग्रुप अफ कम्पनीजको नाममा २७ लाख ६८ हजार हजार ३३३ रुपैयाँ ३३ पैसा लगिएको अभियोगपत्रको ११६ पेजमा दाबी गरिएको छ । 

उनीहरु सबैविरुद्ध सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधको कसूरमा जिल्ला अदालत कास्कीमा अभियोग दर्ता गरिएको हो । 
 

प्रकाशित मिति: आइतबार, पुस ७, २०८१  १८:१३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update