Odapalika - The Fourth Estate - चौथो अंग
रुबीभ्यालीका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा 

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धादिङको रुबीभ्याली गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत टङ्कबहादुर नेगी, वडाध्यक्ष प्रशान्त तामाङ, उपभोक्ता समितिका अध्यक्षसमेत ८ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । 

शाखा सडक निर्माण कार्यमा अनियमितता गरेको पाइएकाले उनीहरुविरुद्ध आइतबार मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

आयोगले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत नेगी, इञ्जिनियर सुदीप रेग्मी, लेखापाल बाबुलाल नेगी र असिष्टेन्ट सवइञ्जिनियर लालमान तामाङ विरुद्ध  १० लाख ८९ हजार ९८९ रुपैयाँ बराबरको बिगो दाबी गरेको छ ।

यसैगरी, रुबीभ्याली गाउँपालिकाका–४ का तत्कालीन वडाध्यक्ष प्रशान्त तामाङ विरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद र जरिवाना माग गरिएको छ । 

स्थानीय पागोदेखि स्कूलसम्म शाखा सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष अजयलाल तामाङ, सचिव सन्जिव तामाङ र कोषाध्यक्ष सञ्चामाया तामाङविरुद्ध पनि  १० लाख ८९ हजार ९८९ रुपैयाँ बराबर बिगो माग गर्दै मुद्दा दायर भएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिएका छन् । 

प्रकाशित मिति: सोमबार, पुस ८, २०८१  ०६:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update