भक्तपुर । मध्यपुरथिमि नगरपालिकामा एक सातासम्म बसेर विभिन्न टोलमा परिक्रमा, नाच प्रदर्शन गरी पूजा ग्रहणसँगै नवदुर्गा जात्रा सम्पन्न भएको छ । जात्रा सम्पन्न भएसँगै देवगणहरू आइतवारबाट बिदा भएका हुन् ।
अघिल्लो साताको आइतवार भक्तपुरबाट मध्यपुरथिमि आएका नवदुर्गासहित देवगणहरूले मध्यपुरथिमिको विभिन्न क्षेत्रमा पुगेर नवदुर्गा नाच प्रदर्शन गर्नुका साथै टोलटोलवासीले नवदुर्गालाई दिएको पूजा ग्रहण गरे । त्यसलगत्तै देवगणलाई भक्तपुर फर्काइएको देवगणमध्येका कृष्णप्रसाद बनमालाले जानकारी दिए ।
मल्लकालभन्दा अघिदेखि तान्त्रिक शक्तिमा चल्दै आएको देवी नवदुर्गा भवानीको प्रदक्षिणासँगै दिनभर मध्यपुरथिमिमा माछा मार्ने जात्रासमेत सञ्चालन भएको थियो ।
एक साताको अवधिमा मध्यपुरथिमिको दिगुटोलबाट सुरु भएको नवदुर्गा नाच भुलाखेल, बाहखा बजार, चपाचो, बालकुमारी, नगदेशलगायत विभिन्न ठाउँमा प्रदर्शन गरी स्थानीयले पूजा ग्रहण गर्दै मध्यपुरथिमिबाट बिदा भएको हो । नवदुर्गाअन्तर्गत गणेश, कुमारी, सिंह, दुम्भसँगै ब्रम्हायणी, महेश्वरी, कुमारी, वैष्णवी, बाराही, महाकाली, महालक्ष्मी, त्रिपुरासुन्दरी र भद्रकालीको पूजा गरिन्छ ।