Odapalika - The Fourth Estate - चौथो अंग
१० अर्बको विकास ऋणपत्र बिक्री खुल्ला, ५ वर्षपछि साँवा व्याज फिर्ता 

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सरकारलाई आवश्यक रकम जुटाउन १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । राष्ट्र बैंकले ६ वर्ष अवधिको विकास ऋणपत्र २०८६ ‘झ’बिक्री गर्न लागेको एक सूचनामार्फत जनाएको हो ।

बोलकबोल प्रक्रियाबाट बिक्री हुने विकास ऋणपत्र खरिदका लागि बैंक तथा वित्तीय संस्था, बिमा कम्पनी, गैरबैंक वित्तीय संस्था, सङ्गठित संस्था तथा नेपाली नागरिकले राष्ट्र बैंको राष्ट्र ऋण व्यवस्थापन विभागमा आवेदन दिनसक्ने बताइएको छ । 

ऋणपत्र खरिदका लागि इच्छुक खरिदकर्ताले प्रतिस्पर्धा र विना प्रतिस्पर्धा पनि सहभागी हुन सक्ने छन् । तर, राष्ट्र बैंकले प्रतिस्पर्धी खरिदकर्तालाई निष्कासित रकमको ८५ प्रतिशत अर्थात् ८ अर्ब ५० करोड रुपैयाँ छुट्याएको छ । विना प्रतिस्पर्धा किन्न चाहनेका लागि भने १५ प्रतिशत अर्थात् १ अर्ब ५० करोड रुपैयाँ छुट्याइएको राष्ट्र बैंकले जनाएको छ । 

खरिदकर्ताले ऋणपत्र धितो राखेर कर्जा लिन र दिन पाउने व्यवस्था छ । ऋणपत्रको दोस्रो बजार कारोबार नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मार्फत मात्र हुन्छ ।

इच्छुक लगानीकर्ताले २४ भदौ अर्थात भोलि दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ सफ्टवेयरमार्फत बोलपत्र पेस गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ । ऋणपत्रमा न्यूनतम ५० हजार र बढीमा निष्कासित रकमको सीमा नबढाई ५० हजारले भाग गर्दा निःशेष भाग जाने अंकसम्म माग गर्न सकिने सूचनामा उल्लेख छ । 

ऋणपत्र २५ भदौमा निष्कासन हुनेछ भने यसको साँवा भुक्तानी २५ भदौ, २०८६ मा हुने राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, भदौ २३, २०८०  ०९:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update