मकवानपुर । हेटौँडा उपमहानगरपालिकालाई शताब्दी पुरानो चुरे पर्वतमा रहेकोे सुरुङ मार्ग हस्तान्तरण गरिएको छ । हेटौँडा हुँदै तराई जोड्ने गरी १०७ वर्षअघि निर्माण गरिएको चुरेको सुरुङ मार्ग जीर्णोद्वारपछि उपमहानगरलाई हस्तान्तरण गरिएको हो ।
सोमबार बागमती प्रदेश सरकारले हेटौँडा उपमहानगरलाई हस्तान्तरण गरेको हो । मर्मत, सम्भारको अभावमा पुरिएर अवरुद्ध बनेको सुरुङ मार्ग बागमती प्रदेश सरकारले जीर्णोद्धार गरेपछि हेटौँडा उपमहानगरालाई हस्तान्तरण गरिएको हो । हेटौँडा उपमहानगरपालिकालाई हस्तान्तरण गरेसँगै अब सर्वसाधारणका लागि खुला गरिने भएको छ ।
बागमती प्रदेश सरकारको यातायात पूर्वाधार निर्देशनालय, हेटौँडामार्फत ऐतिहासिक महत्वको चुरियामाई सुरुङ मार्गको पुनर्निर्माणसँगै पर्यटकीय गन्तव्य बनाउने गरी जीर्णोद्धार गरिएको हो ।
मकवानपुर र बाराको सिमानामा रहेको चुरियामाई सुरुङ मार्ग नेपालको पहिलो सुरुङ मार्गको परिकल्पनाकार ब्रिगेडियर कर्णेल डिल्लीजङ्ग थापाको अगुवाइमा १९७४ सालमा निर्माण गरिएको थियो । उक्त सुरुङ मार्ग बनाउन दुई वर्ष लागेको थियो । विगतमा जिप, लहरीलगायतका साना सवारी आवतजावत हुने गरेको थियो ।