काठमाडौँ । ज्योतिष तथा वास्तुविद् सुरेशचन्द्र रिजाल अन्तर्राष्ट्रिय ज्योतिष शिरोमणिबाट सम्मानित भएका छन् । दक्षिण एसियाली ज्योतिष महासंघ र विक्रम विश्वविद्यालय उज्जैन भारतको संयुक्त आयोजनामा भएको चौथो अन्तर्राष्ट्रिय ज्योतिष वास्तु तथा तन्त्र सम्मेलनमा उनलाई ज्योतिष शिरोमणिबाट सम्मान गरिएको हो ।
मध्य प्रदेशका मुख्यमन्त्री डा. मोहन यादव तथा विक्रम विश्वविद्यालयका कुलपति र दक्षिण एसियाली ज्योतिष महासंघ नेपालका अध्यक्ष आचार्य लक्ष्मण पन्थीलगायत विशिष्ट व्यक्तिहरुको उपस्थितिमा सम्मेलनको उद्घाटन गरिएको थियो ।
सम्मेलनमा ज्योतिष तन्त्र एवं वास्तुसम्बन्धी विशेष चर्चा एवं कार्यपत्र प्रस्तुत गरिएको थियो । नेपालबाट प्रतिनिधित्व गर्ने ज्योतिषीहरुको मुख्य उद्देश्य नेपालबाट प्रकाशन हुने पञ्चाङ्ग भारतमा पनि लागु गर्नुपर्ने विषयमा विशेष छलफल भएको रिजालले जानकारी दिए ।
ज्योतिषमा गणना हुने (काल गणना) समय गणना नै उज्जैनबाट भएको प्राचिन ज्योतिषीय ग्रन्थहरुमा उल्लेख गरिएको छ । कर्कट रेखाको प्रारम्भ नै महाकालेश्वर उज्जैनबाट भएको प्रमाण नै उज्जैनमा विक्रम विश्वविद्यालय हो । ज्योतिष शिरोमणिबाट सम्मानित भएका ज्योतिष रिजाल कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका ज्योतिष भनेर चर्चित रहेका छन् ।