काठमाडौँ । देशकै कान्छा न्यायाधीशको इजलासमा रास्वपा सभापति रवि लामिछानेसहित सहकारी ठगीसम्बन्धी अभियुक्तको बयान सुरु भएको छ ।
पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारीको रकम हिनामिना प्रकरणमा मूल अभियोग पत्र, थप अभियोग पत्र र पूरक अभियोग गरेर कुल ६३ जनालाई प्रतिवादी बनाइएको छ । आइतबार रविसहितलाई सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा कास्की जिल्ला अदालतमा अभियोगपत्र दर्ता गरिएको थियो । अभियोगपत्रमा उनीहरुले १ अर्ब ५१ करोड ४० लाख १९ हजार १९४ रुपैयाँ ३ पैसा अपचलन गरेको पुष्टि भएकाले बिगो माग गरिएको छ।
सोमबारबाट सुनुवाइ सुरु भएको छ । रवि लामिछानेको बयान कास्की जिल्ला अदालतको ७ नम्बर इजालसमा हुने भएको छ । इजलास तोक्दा गोला प्रथाबाट गरिन्छ । गोला थुत्दा देशकै कान्छा न्यायाधीशका रुपमा रहेका नीतिज राईको इजलास रविको बयान परेको छ ।
रविसँगै कास्की प्रहरीको हिरासतमा पूर्वडिआइजी छविलाल जोशी, गीता पछाई, रामबहादुर खनाल र कृष्णबहादुर गुरुङकोसमेत बयान सोमबारबाट हुनेछ ।
सबैको बयान सकिएपछि थुनछेक बहस हुनेछ र उनीहरुलाई पुर्पक्षका लागि जेल चलान गर्ने वा धरौटी वा बिनाधरौटीमा रिहा गर्ने भन्ने आदेश न्यायाधीश राईकै इजलासले गर्नेछ ।
देशभर २८२ जिल्ला न्यायधीश कार्यरत रहेकोमा २४५औँ वरीयताक्रममा रहेका न्यायाधीश राई ३५ वर्षका हुन् । उनै न्यायाधीशको इजलासले थुनछेक बहसपछिको आदेश दिनेछ ।