Odapalika - The Fourth Estate - चौथो अंग
जनतासँग साकेलाः जताततै डस्विन, टोलमै सेवा, सुत्केरीलाई भाले र घ्यू

खोटाङ । जनमैत्री शासन सञ्चालनको प्रतिवद्धतासहित खोटाङको साकेला गाउँपालिकाले सरसफाइदेखि नागरिकको स्वास्थ्यसम्ममा नजिकबाट काम गर्न थालेको छ । 

गाउँपालिकाले फोहरमैलाको दिगो व्यवस्थापन गरी पालिकालाई ‘सरसफाइमैत्री पालिका’ बनाउने अभियानलाई यतिवेला तिब्र बनाएको छ । 

सरसफाइ कायम राख्न पालिकाले बजारक्षेत्र, पार्क, सार्वजनिकस्थल तथा कार्यालयमा ‘डस्टबिन’ राख्न सुरु गरेको छ । गाउँपालिकालाई ‘सुसंस्कृत, संस्थागत र समृद्ध’ बनाइ पूर्णरुपमा ‘सरसफाइमैत्री पालिका’ बनाउन डस्टबिन राख्न सुरु गरेको पालिकाले जनाएको छ । 

यो अभियानमा पालिकाका कर्मचारीहरु नै खटिरहेका छन् । गाउँपालिकाले सबै वडाअन्तर्गतका विद्यालय, स्वास्थ्य संस्था, सार्वजनिकस्थल, सडक तथा पार्कमा फोहरमैला व्यवस्थापनका लागि डस्टबिन राख्ने गरेको छ । 

sakela-sarsafai1694233364.jpg

विभिन्न ठाउँमा राखिएका डस्टबिनमा संकलन गरिएका फोहरमैलालाई गाउँपालिकाले डम्पिङसाइटमा लगेर व्यवस्थापन गर्ने जनाइएको छ । फोहरमैला व्यवस्थापनका लागि साकेला गाउँपालिका–३ खिदिमामा जग्गाकोसमेत व्यवस्थापन भइसकेको र डम्पिङसाइट निर्माण गर्ने तयारी भइरहेको गाउँपालिका प्रमुख रविप्रकाश राई बताउँछन् । 

फोहरमैला व्यवस्थापन र पूर्ण सरसफाइको कार्यक्रम पालिकाका सबै वडा र टोल तथा बस्तीमा नियमितरुपमा गरिने गाउँपालिकाका प्रवक्ता जीवन खत्रीले जानकारी दिए । 

गाउँपालिकामा ४ वर्षदेखि पूर्ण सरसफाइ कार्यक्रम सञ्चालन हुँदै आएको छ । विगतमा गैरसरकारी संस्थामार्फत सञ्चालन हुँदै आएको उक्त कार्यक्रम एक वर्षदेखि भने गाउँपालिका आफैँले सञ्चालन गरिरहेको छ ।

टोलटोलमै सरकारी सेवा 

नागरिकहरुको समस्यालाई वस्तीस्तरबाटै समाधान गर्ने उद्देश्यका साथ गाउँपालिकाको टोलटोलमा विभिन्न सेवा सहितको शिविर आयोजना गर्ने गरेको छ । 

शुक्रबार उक्त गाउँपालिकाको वडा नम्बर १ बाँझेच्यानडाँडाको आयोजनामा सोही वडाको सेखुवा डाँडागाउँमा स्वास्थ्य परीक्षण सहितको विविध शिविर सञ्चालन गरेको छ । 

शारीरिक अशक्तताका कारण वडा कार्यालय सम्म पुग्न समस्या हुने लाभग्राहीहरुलाई लक्षित गरि टोलबाटै सामाजिक सुरक्षा भत्ताको नविकरण गर्ने व्यवस्था समेत मिलाइएको छ । 

भौगोलिक विकटताका कारण वडा कार्यालय सम्म पुगेर फर्कन समस्या हुने नागरिकहरुको समस्यालाई समाधान गर्ने उद्देश्यले शिविरको आयोजना गरिएको वडा अध्यक्ष हेमन राई बताउँछन् । 

sakela tol ma sewa1694233361.jpg

गाउँपालिकाले निर्माण सुरु गरेको आवधिक योजनामा ‘डिजिटल पालिका निर्माण’ योजनालाई प्राथमिकता दिएर काम पनि सुरु गरेको छ । 

डिजिटल पालिका निर्माण भएपछि नागरिकले अनलाइनबाटै आफूलाई आवश्यक पर्ने सम्पूर्ण सेवा घरै बसिबसी लिन सक्ने पालिकाले जनाएको छ । 

सिफारिस, व्यक्तिगत घटना दर्ता, राजश्व र कर प्रणाली लगायतका सेवा डिजिटल पालिका कार्यान्वयनमा आएपछि प्राप्त हुने गाउँपालिका अध्यक्ष राईले बताए । 

सुत्केरीलाई हरेक बार खाना चार 

गाउँपालिकाले नियमित रुपमा ‘गर्भवती र सुत्केरी’ भेटघाट कार्यक्रम पनि गरिरहेको छ ।  गत मंगलवारमात्र स्वास्थ्य चौकी खिदिमाको आयोजनामा वडा नम्बर ३ बोराटोल स्थित एक जना सुत्केरीसँगको भेटघाट कार्यक्रम भयो । 

सुत्केरीसँगको भेटघाट क्रममा हरेक बार खाना चारको साथमा सुत्केरी र बच्चाको लागि हाईजिन किट उपलब्ध गराइएको छ ।

हरेक बार खाना चारको खानेकुरा गर्भवती र सुत्केरी महिला र परिवारले खानुपर्ने प्रमुख उद्देश्यका साथ सुत्केरी भेटघाट कार्यक्रमको आयोजना गरिएको स्वास्थ्य चौकी खिदिमाका प्रमुख कमल प्रसाद फुँयालले बताए । 

कार्यक्रमले पोषणमैत्री स्थानीय टोल घोषणा र पूर्ण सरसफाईको अभियानलाई समेत सहयोग पुग्ने भएकाले आगामी वर्षहरुमा पनि यो कार्यक्रमलाई निरन्तरता दिइने उनको भनाइ छ । सुत्केरी भेटघाट कार्यक्रमका लागि वडाले मात्र ३० हजार रुपैयाँ बजेट बिनियोजन गरेको छ ।

sakela sutkari1694233361.jpg

सुत्केरी भेटघाट कार्यक्रम अन्तर्गत आगामी वर्षहरुमा पनि बजेट बिनियोजन गरेर कार्यक्रमलाई निरन्तरता दिइने गाउँपालिका उपाध्यक्ष बिर्सिका राईको भनाइ छ । उनकाअनुसार सुत्केरीलाई मासु, घ्यूलगायतका पोषिलो खानेकुरा दिने गरिएको छ ।

सुत्केरी भेटघाट कार्यक्रमका लागि यो वर्षका लागि   गाउँपालिकास्थित विभिन्न वडाहरुले बजेट विनियोजन गरेका छन् । 

वडा नम्बर १ बाँझेच्यानडाँडाले पोषिलो आहार शीर्षकमा ३० हजार, २ नम्बर वडा कार्यालय रतन्छाले सुत्केरी भेटघाट कार्यक्रममा ३० हजार, ३ नम्बर वडाले सुत्केरीहरुलाई पोषण नाङ्लो कार्यक्रम शीर्षकमा ३० हजार र ४ नम्बर वडाले स्वास्थ्यसँग जनप्रतिनिधि सुत्केरी परामर्श खर्च शीर्षकमा ६० हजार रुपैंया बजेट बिनियोजन गरेको छ ।
 

प्रकाशित मिति: शनिबार, भदौ २३, २०८०  १०:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update