कास्की । पोखरा महानगरपालिकाले छात्रवृत्तिको आवेदन स्थगित गरेको छ । बहालवाला जनप्रतिनिधिका सन्तानलाई छात्रवृत्ति दिने उद्देश्यले कार्यविधि संशोधन गरेपछि विरोध भएपछि सोमबार पोखरा महानगरले सार्वजनिक सूचना निकालेर आवेदन स्थगित गरेको हो ।
यसअघि कर्मचारीका सन्तानले मात्र पाउने व्यवस्था रहेकामा संशोधन गरेर जनप्रतिनिधिका सन्तानले पनि चिकित्सा शिक्षा (एमबीबीएस) पढ्न छात्रवृत्ति पाउने व्यवस्था गरेपछि सर्वत्र विरोध भयो । चौतर्फी विरोध भएसँगै सोमबार पोखरा महानगरले सूचना निकालेर अनिश्चितकालका लागि आवेदन स्थगित गरेको छ ।
छात्रवृत्तिका लागि विद्यार्थी छनोट गर्न नगर प्रमुख धनराज आचार्यको संयोजकत्वमा बनाइएको छात्रवृत्ति व्यवस्थापन समितिको पुस २ गते बसेको बैठकले छात्रवृत्तिका लागि जनप्रतिनिधि र कर्मचारीका सन्तानबाट आवेदन माग गर्ने निर्णय गरेको थियो । सो निर्णय अनुसार पुस ४ गते सूचना जारी गरी १५ दिनभित्र आवेदन दिन आह्वान गरिएको थियो ।
तर, विरोध भएपछि सोमबार स्थगित गरिएको पोखरा महानगरले जनाएको छ । ‘पोखरा महानगरपालिका शिक्षा महाशाखाको मिति २०८१÷०९÷०४ को छात्रवृत्तिको लागि निवेदन पेश गर्न आह्वान गरिएको सूचना नगर शिक्षा समितिका अध्यक्ष एंव नगरप्रमुखज्यूको निर्देशनअनुसार अर्काे सूचना नभएसम्मका लागि स्थगित गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ,’ महानगरले सोमबार जारी गरेको सूचनामा उल्लेख छ ।