मकवानपुर । हेटौँडा उपमहानगरपालिकाले आफू मातहत आएसँगै चुरियामाई सुरुङमार्ग खुला गर्दै अवलोकन शुल्क तोेकेको छ । सोमबार बागमती प्रदेश सरकारले शताब्दी पुरानो चुरे पर्वतमा रहेकोे उक्त सुरुङमार्ग हस्तान्तरण गरेपछि सोमबारबाटै खुला गर्दै हेटौँडा उपमहानगरले अवलोकन शुल्क तोेकेको हो ।
हेटौँडा उपमहानगरपालिका–१५ मा रहेको चुरियामाई सुरुङमार्गको सोमबार बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले शुभारम्भ गरेका हुन् ।
हेटौँडा उपमहानगरपालिकाले सुरुङमार्ग अवलोकन गर्न नेपालीलाई प्रतिव्यक्ति ५० रुपैयाँ, विदेशीलाई प्रतिव्यक्ति १२० रुपैयाँ, विद्यार्थीलाई २० रुपैयाँ शुल्क तोकेको छ । तर, उपमहानगरले ५ वर्षमुनिका बालबालिका, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरुलाई निःशुल्क प्रवेशको व्यवस्था गरेको छ ।
हेटौँडा हुँदै तराई जोड्ने गरी १०७ वर्षअघि निर्माण गरिएको चुरियामाई सुरुङमार्ग जीर्णोद्वारपछि उपमहानगरलाई हस्तान्तरण गरिएको हो । मर्मत, सम्भारको अभावमा पुरिएर अवरुद्ध बनेको सुरुङ मार्ग बागमती प्रदेश सरकारले जीर्णोद्धार गरेपछि हेटौँडा उपमहानगरालाई हस्तान्तरण गरिएको हो ।
बागमती प्रदेश सरकारको यातायात पूर्वाधार निर्देशनालय, हेटौँडामार्फत ऐतिहासिक महत्वको चुरियामाई सुरुङ मार्गको पुनर्निर्माणसँगै पर्यटकीय गन्तव्य बनाउने गरी जीर्णोद्धार गरिएको हो ।
मकवानपुर र बाराको सिमानामा रहेको चुरियामाई सुरुङ मार्ग नेपालको पहिलो सुरुङ मार्गको परिकल्पनाकार ब्रिगेडियर कर्णेल डिल्लीजङ्ग थापाको अगुवाइमा १९७४ सालमा निर्माण गरिएको थियो । उक्त सुरुङ मार्ग बनाउन दुई वर्ष लागेको थियो । विगतमा जिप, लहरीलगायतका साना सवारी आवतजावत हुने गरेको थियो ।