Odapalika - The Fourth Estate - चौथो अंग
पश्चिमबाट नेपाल छिर्यो मौसमी प्रभाव, उपत्यका झन-झन चिसिदै 

काठमाडौँ । पश्चिम नेपालबाट मौसममा बदली सुरु भएको छ । सोमबार साँझदेखि सुदूरपश्चिम प्रदेशमा बदली भएकामा विस्तारै मुलुकभरि फैलिने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले आज राति कणाली प्रदेशमा पनि फैलिने भन्दै विस्तारै गण्डकी र लुम्बिनीसम्म आउने बताएको छ । आज दिउँसोसम्म बदली कायम रहने र बुधबारदेखि केही कमजोर हुँदै जाने विभागको भनाइ छ । 

यसका कारण राति र बिहान उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात हुने र अन्य केही क्षेत्रमा हल्ला वर्षा हुनसक्ने सम्भावना रहेको महाशाखाको भनाइ छ ।

हाल देशमा पश्चिमी वायुको प्रभाव रहेका तथा सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव हुने देखिएको छ । 

हाल देशको सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही कोशी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ ।

२४ घण्टामा बागमती प्रदेश र मधेस प्रदेशको थोरै स्थान तथा कोशी प्रदेशको एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना पनि रहेको महाशाखाले जानकारी गराएको छ । 

मौसममा बदली भएसँगै नेपालमा पुनःचिसो बढ्न सुरु भएको छ । गत मङ्सिर अन्तिम साता नेपालमा चिसो अत्यधिक बढेर विस्तारै घटेकामा सोमबारदेखि पुनः चिसो बढ्न थालेको महाशाखाले जनाएको छ ।

महाशाखाको अभिलेखमा हाल काठमाडौँको न्यूनतम तापक्रम ४.३ डिग्री छ । पुस ४ गते काठमाडौँको तापक्रम ४.८ डिग्री थियो ।

 

प्रकाशित मिति: मंगलबार, पुस ९, २०८१  ०७:०८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update