Odapalika - The Fourth Estate - चौथो अंग
ललितपुरमा एक वर्षमा मानवअधिकार उल्लंघनका ३१२ घटना

ललितपुर । ललितपुरमा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ प्रकाशन पूर्ववार्षिक समीक्षा सम्पन्न भएको छ । कार्यक्रमका सहभागीहरुले मानव अधिकारका सवालमा सबैको साझा पहल हुनु पर्नेमा जोड दिएका छन् ।

इन्सेकले सन् २०२४ को अवधिमा मानव अधिकार वर्ष पुस्तक–२०२५ का लागि सङ्कलन गरिएका घटनाहरूको पूर्वसमीक्षा गरिएको इन्सेक ललितपुर जिल्ला प्रतिनिधि दीपकप्रसाद घिमिरेले जानकारी दिए । इन्सेकले ललितपुर जिल्लामा सन् २०२४ मा ललितपुरमा ३१२ ओटा घटना अभिलेखीकरण भएको जानकारी दिएको छ । 

अभिलेखीकरण भएको घटनामा हत्या ७ ओटा, हत्या प्रयास १८ ओटा, बलात्कार ५६ ओटा, बलात्कार प्रयास २ ओटा, मानव बेचबिखन तथा ओसारपसार दुई ओटा, बहुविवाह ११ ओटा, बाल यौन दुरव्यवहार ७ ओटा, यौन दुरव्यवहार एउटा,  दाइजो एउटा, बालबालिका सम्बन्धी कसुर १, विद्युतीय कारोबार (साइबर) सम्बन्धी ३ र घरेलु हिंसा का २०३ गरी जम्मा ३१२  ओटा घटना रहेको पाइएको छ ।

कार्यक्रममा जिल्ला समन्वय समिति ललितपुरका प्रमुख ऋषिदेव फुयाँलले नेपाल मानव अधिकार वर्ष पुस्तकमा समावेश गरिने घटनाहरुको अभिलेखका साथै मानव अधिकारका बारेमा जिल्लाका छ वटै पालिका स्तरमा छलफल गर्नु जरुरी भएको बताए ।

उनले मानवअधिकारको रक्षा र विकासका लागि स्थानीय सरकार र नागरिक संस्थाहरुबीच सहकार्य गर्न आवश्यक समन्वयका लागि पहल गर्ने प्रतिबद्धता जनाए ।

नेपाली काङ्ग्रेस ललितपुरका सचिव बशिष्ट अधिकारीले कुनै पनि घटनामा संलग्न अपराधिले दण्ड पाउनुपर्ने उल्लेख गर्दै त्यस्ता व्यक्तिको कसैले पनि संरक्षण गर्न नहुनेमा जोड दिए ।

नेपाल कम्युनिष्ट पार्टी एमाले ललितपुरका सचिव राम राउतले आफूहरुले मानव अधिकार रक्षाका लागि न्याय र कानुन विभाग स्थापना गरी कार्य गरिरहेको उल्लेख गर्दै समृद्ध नेपाल सुखी नेपालीको नारा अनुसारको व्यवहारका लागि आवशयक सहकार्यमा जोड दिए ।

ललितपुर जिल्ला अदालतका प्रवक्ता एवं सूचना अधिकारी राम सजिवन महतोले समाजमा मानव अधिकारको रक्षा र विकाससँगै व्यवहारिक प्रयोगका लागि सचेतनाको खाँचो औंल्याउदै विद्यालयतहबाट नै मानव अधिकार र नैतिक शिक्षाको व्यवस्था हुनुपर्नेमा जोड दिए ।

प्रकाशित मिति: मंगलबार, पुस ९, २०८१  ०७:४६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update