काठमाडौँ । रजनी थापा नेपाल जेसिजको राष्ट्रिय अध्यक्षमा निर्वाचित भएकी छिन् । सुनसरीको इटहरीमा पुस ६ देखि ८ गतेसम्म चलेको नेपाल जेसिजको ५१औं महाधिवेशनमा सन् २०२५ का लागि थापा निर्वाचित बनेकी हुन् ।
नेपाल जेसिजको राष्ट्रिय अध्यक्षमा थापासँगै जीवन कार्की पनि चुनावी प्रतिस्पर्धामा थिए । थापाले कार्कीलाई पराजित गरेकी हुन् ।
निर्वाचन समितिका अनुसार थापाले ७६२ मत ल्याएर विजयी भइन् भने कार्कीले ४५३ मत प्राप्त गरे ।
राष्ट्रिय अध्यक्षमा निर्वाचित थापा सन् २०१९ मा मनोहरा जेसीजको अध्यक्ष थिइन् । उनी २०२१ मा राष्ट्रिय उपाध्यक्ष र सन् २०२३ मा राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष बनेकी थिइन् ।
नेपाल जेसिजको राष्ट्रिय कार्यकारिणी उपाध्यक्षमा गणेश सापकोटा, एलिना महर्जन, कृष्ण सापकोटा र सौरभ श्रेष्ठ निर्वाचित भएका छन् । राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष ४ जना रहने व्यवस्था छ । सो पदमा ८ जनाबीच प्रतिस्पर्धा भएको थियो ।
यस्तै, १२ जना निर्वाचित हुने राष्ट्रिय उपाध्यक्षमा सन्दीप खत्री, दीपक अधिकारी, धनराज कँडेल, सुजन थापा, संगम कार्की, बविता पाण्डे, अभिषेक दुलाल, सुमित्रा भट्टराई, उज्ज्वल काबरा, सुवास गौतम, राघव कोइराला र मनिप्रसाद अर्याल निर्वाचित भएका छन् ।
महासचिव, कोषाध्यक्षलगायत पद भने मनोनीत हुने व्यवस्था छ । नेपाल जेसीजमा १७८ शाखा छन् । ५१औं महाधिवेशनमा १२ सयभन्दा बढी मतदाता थिए ।
अध्यक्ष निर्वाचित थापा नेपाली कांग्रेसबाट राजनीति गर्छिन् । उनी २०८९ सालमा सम्पन्न स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट टोखा नगरपालिकाको मेयर पदमा उम्मेदवार बनेकी थिइन् । यद्यपि, उनी नेकपा एमालेका मेयर पदका उम्मेदवार प्रकाश अधिकारीसँग झिनो मतान्तरले पराजित भएकी थिइन् ।
मेयरमा निर्वाचित अधिकारीले १० हजार ३४० मत ल्याउदा थापाले १० हजार १७७ मत प्राप्त गरेकी थिइन् ।