Odapalika - The Fourth Estate - चौथो अंग
के थियो रविले ऋण खाएको प्रमाण भनेर गगनले संसदमा देखाएको कागज, अदालतले माग्न सक्छ ?

काठमाडौँ । सामाजिक संजालमा सबैभन्दा बलियो उपस्थिति भएका नेताहरुमा पर्छन् कांग्रेस महामन्त्री गगन थापा र राष्ट्रिय स्वतन्त्र पार्टीं (रास्वपा) सभापति रवि लामिछाने ।

यी दुई नेताको अर्काे पनि सम्बन्ध छ । दुबै जना पूर्वसंचारकर्मी हुन् । थापा र लामिछाने कुनै समय इमेज च्यानलमा सँगै काम गर्थे पनि । 

सामाजिक संजालमा यी दुबै नेताका समर्थक र एकअर्काका आलोचक पनि उग्र छन् । एकले अर्काे नेताका समर्थकलाई ‘कटक्पा’ र ‘हली’ भनेर कटाक्षसमेत गर्ने गर्छन् ।

थापा संचारकर्म हुँदै राजनीतिमा पसेको लामो समय भइसकेको छ । उनी नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघको राजनीतिबाट कांग्रेस मुलधारमा आइपुगेका हुन् । थापा यसअघि नै संसदीय समितिको सभापति भइसकेका छन् भने एक पटक मन्त्री (प्रचण्ड मन्त्रिपरिषदमा स्वास्थ्य तथा जनसंख्या मन्त्री) पनि भइसकेका छन् ।

लामिछाने संचारकर्मबाट राजनीतिमा आएको ३ वर्ष पनि वितेको छैन । तर, यहीबीचमा लामिछाने २ पटक उपप्रधान तथा गृहमन्त्री भइसकेका छन् । र, अर्काे विषय के पनि छ भने कांग्रेस महामन्त्री थापासहित नेपाली कांग्रेसको विशेष प्रयासपछि लामिछाने विरुद्ध सहकारी ठगीमा छानविन गर्न संसदीय छानविन विशेष समिति गठन भएको थियो ।

सो संसदीय समिति बन्नुअघि महामन्त्री थापाले प्रतिनिधिसभामा गरेको सम्बोधन चर्चित छ । उनले गत बैशाख २८ गतेको प्रतिनिधिसभा बैठकमा एउटा कागज देखाउँदै भनेका थिए–‘सभामुख महोदय, रवि लामिछाने आफैले फाराम भरेर, हस्ताक्षर गरेर सहकारी संस्थाबाट ऋण लिएको प्रमाण मसँग छ, यो प्रमाण कहाँ पेश गरुँ ?’

थापाको सो सम्बोधनको केही समयपछि संसदीय छानविन विशेष समिति गठन भएको थियो । सो समितिले झण्डै सय दिन लगाएर गरेको छानविनमा लामिछाने आफैले फाराम भरेर, हस्ताक्षर गरेर सहकारी संस्थाबाट ऋण लिएको प्रमाण फेला पार्न सकेन ।

संसदीय छानविन विशेष समितिका सभापति एमाले सांसद सूर्य थापा थिए । उनले प्रतिवेदन बुझाएको केही समयपछि विभिन्न मिडियाहरुमा प्रतिक्रिया दिदै ‘गगन थापाले छ भन्नुभएको प्रमाण हामीलाई उपलब्ध गराइदिनु भनेर पत्र नै पठाएका थियौं, उहाँले पत्रको जवाफ पनि दिनुभएन, प्रमाण पनि दिनुभएन’ भनेका छन् ।

लामिछानेलाई सहकारीको बचत हिनामिनाको अभियोगमा प्रहरीले गत कात्तिक २ गते पक्राउ गरेको थियो । झण्डै ३ महिना प्रहरी हिरासतमा राखेर अनुसन्धान गरेपछि प्रहरीले लामिछानेसहित विरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दायर गरेको छ । अहिले सो मुद्दामा थुनछेक बहस चलिरहेको छ । कास्की जिल्ला अदालतमा पेश गरेको अभियोग पत्रमा पनि रवि लामिछाने आफैले फाराम भरेर, हस्ताक्षर गरेर सहकारी संस्थाबाट ऋण लिएको तथ्य भने उल्लेख छैन ।

यसैबीच कांग्रेस महामन्त्री थापाले लामिछानेको सहकारी प्रकरणका विषयमा संसदमा गरेको टिप्पणी अहिले पनि सामाजिक संजालमा चर्चित बनेको छ । लामिछाने र रास्वपा समर्थकहरु अहिले पनि गगन थापाले देखाएको ‘रवि लामिछाने आफैले फाराम भरेर, हस्ताक्षर गरेर ऋण लिएको प्रमाण खोइ’ भनेर प्रश्न गरिरहेका छन् । रास्वपाका केही समर्थकहरु भने गगन थापाले प्रमाण भन्दै संसदमा हात उठाएर देखाएको कागज वा प्रमाण के हो ? थापाले सार्वजनिक गर्नुपर्छ भनिरहेका छन् । रास्वपा र रवि लामिछानेका केही समर्थकहरु भने थापाले प्रमाण भन्दै संसदमा देखाएको कागज सार्वजनिक गर्न कानुनी प्रक्रियामा जाने बताउन थालेका छन् ।

गगन थापाले देखाएको ‘प्रमाण’ के थियो ?

गगन थापाले संसदमा सम्बोधन गर्दै एउटा कागज देखाएर ‘यो प्रमाण कहाँ पेश गरुँ सभामुख महोदय ?’ भनेर प्रश्न गरेका थिए । तर, संसदीय छानविन विशेष समिति र नेपाल प्रहरीको अनुसन्धानले थापाले भने जस्तै लामिछानेले हस्ताक्षर गरेर कुनैपनि सहकारी संस्थाबाट ऋण लिएको प्रमाण भने फेला पारेन ।

संसदीय छानविन र प्रहरीको अनुसन्धानले लामिछानेले फाराम भरेर, हस्ताक्षर गरेर सहकारी संस्थाबाट ऋण लिएको फेला पार्न सकेन भने थापाले पनि मैले फेला पारेको प्रमाण यो हो भनेर सार्वजनिक गरेका छैनन् ।

थापाले आफूसँग प्रमाण भए स्वतःस्फूर्त रुपमा संसदीय छानविन समिति तथा प्रहरीलाई उपलब्ध गराउनु पर्ने हो । संसदीय छानविन समितिका सभापति सूर्य थापाले त आफूहरुले पत्र नै लेखेर गगन थापालाई उनीसँग भएको प्रमाण उपलब्ध गराउन अनुरोध गरिएको बताएका थिए । तर, गगन थापासँग भएको प्रमाण के थियो भन्ने आजसम्म सार्वजनिक भएको छैन ।

‘माननीय गगन थापाले मसँग प्रमाण छ भनेर संसदमा एउटा फाइलबाट एउटा कागज देखाउँदै हुनुहुन्थ्यो, उहाँले देखाएको कागजमा के थियो, उहाँसँग भएको प्रमाण के हो भन्ने हामीलाई थाहा भएन,’ थापाले संसदमा सो विषयमा सम्बोधन गरेकै दिन एक सांसदले भनेका थिए ।

गगन थापाले देखाउनुपर्छ उनीसँग भएको ‘प्रमाण’ ?

गगन थापाले आफूसँग भएको प्रमाण सार्वजनिक गर्नुपर्ने विषय रास्वपाका नेता कार्यकर्ता तथा रवि लामिछानेका शुभचिन्तकहरुले उठाइरहेका छन् । र, कतिपयले त थापाले प्रमाण भन्दै देखाएको कागज के थियो भनेर अदालतमार्फत माग्ने पनि बताइरहेका छन् ।

थापाले संसदमा ‘मसँग प्रमाण छ’ भनेर बोलेको विषयमा अदालतले त्यो प्रमाण ल्याउ भन्न सक्छ ? भनेर हामीले संवैधानिक कानुनका ज्ञाता चन्द्रकान्त ज्ञवालीसँग सोधका छौं ।

‘पहिलो कुरा त विजनेस भएको बेलामा संसदमा सांसदसँग विशेषाधिकार हुन्छ । उनीहरुले बोलेका कुराको बारेमा अन्यत्र जवाफदेही हुनुपर्दैन । दोस्रो कुरा, सांसदले संसदमा बोलेका कुरा संसदको रेकर्डमा हुन्छ । त्यो रेकर्डमा भएको कुरा उतारेर दिने वा नदिने भन्ने विषय सभामुखमा निर्भर हुन्छ, सभामुखको अधिकारको विषय हो,’ ज्ञवालीले वडापालिकासँग भने ।

यद्यपि, गगन थापाले संसदमा मसँग प्रमाण छ भनेर मात्रै बोलेका छन् । उनीसँग भएको प्रमाण कतै देखाएको वा पेश गरेको होइन । थापासँग भएको भनिएको प्रमाण अदालतले थापासँग वा सभामुखले थापामार्फत प्राप्त गरेर अदालतमा पेश गर्नुपर्ने हुन्छ कि हुँदैन भनेर पनि हामीले ज्ञवालीसँग प्रश्न गरेका छौं ।

‘सभामुखले सम्बन्धित सांसदसँग सो प्रमाण के कस्तो हो, उपलब्ध गराउनु भनेर माग्न सक्ने अवस्था हुन्छ । अनि सांसदले पेश गरेको कागजात संसदमा मात्रै राख्ने वा अदालतलाई पनि उपलब्ध गराउने नगराउने सभामुखकै विषय भयो । सभामुखले सम्बन्धित सांसदसँग थप प्रमाण नमाग्न पनि सक्छ । यो भनेको सभामुखको विषय हो,’ वरिष्ठ अधिवक्ता ज्ञवालीले थपे ।

प्रकाशित मिति: मंगलबार, पुस ९, २०८१  १८:३६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update