Odapalika - The Fourth Estate - चौथो अंग
बालेनको तस्वीर अंकित प्रचार सामग्री सडकबाट रातारात गायव ! वडा ३२ सँग किन रिसाए मेयर ? 

काठमाडौँ । कोटेश्वर क्षेत्रको व्यावसायिक र पर्यटन विकासका लागि कोटेश्वर व्यवसायी संघले १२ र १३ पुसमा प्रथम कोटेश्वर महोत्सव गर्दैछ । 

यो महोत्सव काठमाडौँ महानगरपालिका वडा नम्बर ३२ संगको सहकार्यमा हुँदैछ । महानगरसँगै सहकार्य गर्ने भएपछि प्रमुख अतिथिका रुपमा काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह निम्त्याइए । विशिष्ट अथितिका रुपमा उपप्रमुख सुनीता ढंगोल आउने भनेर व्यापक प्रचार प्रचार पनि जारी छ । 

मंगलवार साँझसम्म पनि कोटेश्वर क्षेत्रका विजुलीका पोल र होर्डिङ वोर्डमा मेयर बालेन शाहको ठूलो फाेटोसहितको प्रचार सामग्री बग्रेल्ती थिए । 

तर साँझ परेपछि महानगरका प्रहरीले बालेनको तस्वीर अंकित महोत्सवका सवै प्रचार सामग्री सडकबाटै उठाएर लग्यो । अहिले कुनै पनि पोल र भित्तामा महोत्सवको प्रचार सामग्री छैन । 

किन उठायो त महानगरले प्रचार सामग्री ?

काठमाडौँ महानगरपालिकाका मेयर बालेनको सचिवालयका अनुसार वडा नम्बर ३२ सहितका आयोजकले मेयरको तस्वीर राखेर प्रचार सामग्री बनाउने अनुमति नलिएको र औपचारिक रुपमा कार्यक्रममा जाने टुंगो समेत नलागी प्रमुख अतिथिका रुपमा प्रचार गरेर भ्रम छरेका कारण प्रहरी लगाएर प्रचार सामग्री हटाइएको हो । 

तर आयोजक कोटेश्वर व्यवसायी संघका अध्यक्ष गोरख बहादुर थापाका अनुसार भने आयोजक आफैँले प्रचार सामग्री हटाएको हो । उनले भने, ‘मेयरसाव हाम्रो महोत्सवको प्रमुख अतिथिका रुपमा आउनुहुन्छ, उहाँले आफ्नो तस्वीर राखेर प्रचार सामग्री नबनाउन आग्रह गरेका कारण हामीले नै स्वतःस्फूर्त रुपमा हटाएका हौँ ।’ 

आयोजकले बालेनले नै महोत्सव उद्घाटन गर्ने बताए पनि मेयरको सचिवालयले भने यो विषय टुंगो लागिनसकेको बताएको छ । श्रोतका अनुसार बजेट बिनियोजनका विषयमा वडा नम्बर ३२ का वडा अध्यक्ष र मेयरबीच खटपट छ भने काेटेश्वर क्षेत्रबाट प्रतिनिधित्व गर्ने प्रदेश सांसद र वडाअध्यक्षबीच पनि पछिल्ला दिन सम्वन्ध राम्राे छैन । जसको प्रभाव सो वडाको व्यावसायिकस्थल कोटेश्वरले गर्न खोजेको महोत्सवमा परेको हो । 

बालेनले नगर प्रहरी लगाएर आफ्नो तस्वीर अंकित प्रचार सामग्री हटाउन लगाए पनि आयोजकहरुले भने देशका ख्यातिप्राप्त कलाकारहरु र सेलिव्रेटीहरु बोलाएर महोत्सव आयोजना गर्दैछ । 

प्रकाशित मिति: बुधबार, पुस १०, २०८१  १२:३२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update