बाँके । बाँकेको सबै ८ स्थानीय तहमा कुपोषणका बालबालिका भेटिएका छन् । गत साउनदेखि अहिलेसम्म दुई वर्षमुनिका कुपोषण भएका १ हजार ५८८ बालबालिका फेला परेका हुन् ।
‘पछिल्लो समय कुपोषण भएका बालबालिकाको अवस्था घट्दो देखिन्छ। यद्यपि जिल्लाका आठवटै स्थानीय तहमा चालु आवको ५ महिनामा १ हजार ५८८ बालबालिका फेला परेका छन्’, जिल्ला स्वास्थ्य कार्यालयका पोषण फोकल पर्सन अधिकृत देवनारायण उपाध्यायले भने ।
उनले कुपोषणको अवस्थामा रहेका बालबालिकालाई लक्षित गरेर सङ्घ, प्रदेश र स्थानीय सररकारले पोषण विशेष कार्यक्रम सञ्चालन गर्न लागेको जानकारी दिँदै सबैभन्दा बढी मधेसी र मुस्लिम समुदायका बालबालिकामा कुपोषणको समस्या देखिएको बताए ।
समाजमा रहेका विभिन्न समुदायमा फरकफरक अवस्थामा रहेका बालबालिकालाई कुपोषण भएको देखिएको अधिकृत उपाध्यायले उल्लेख गरे । उनका अनुसार सबैभन्दा बढी जानकी गाउँपालिका, नरैनापुर गाउँपालिका र सबैभन्दा कम कोहलपुर नगरपालिकामा कुपोषणका बालबालिका रहेका छन् ।
जिल्ला स्वास्थ्य कार्यालयका अनुसार जानकी गाउँपालिकामा तीन ७४, नरैनापुर गाउँपालिकामा ३५१, नेपालगञ्ज उपमहानगरपालिकामा २२०, डुडुवा गाउँपालिकमा १०७ बालबालिकामा कुपोषणको समस्या देखिएको छ।
राप्ती सोनारी गाउँपालिकामा १५०, कोहलपुर नगरपालिकामा ६०, बैजनाथ गाउँपालिकामा २३५ र खजुरा गाउँपालिकामा ९१ गरी १ हजार ५८८ बालबालिकामा कुपोषण रहेको पोषण फोकल पर्सन उपाध्यायले जानकारी दिए ।
सबै तहका सरकारबाट जनचेतनामूलक कार्यक्रमसहित पोषण विशेष कार्यक्रममार्फत बालबालिकामा पुगिएको उनले उल्लेख गरे ।
जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख अङ्गतबहादुर शाहीले बालबालिकामा देखिएको कुपोषण घट्दोमा अवस्थामा देखिए पनि सन्तोषजनक नरहेको उल्लेख गर्दै जसरी घट्नुपर्ने त्यसरी नघटेको बताए ।
जानकी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख दलबहादुर रानाले डुडुवामा पछिल्लो समय कुपोषण भएका बालबालिका घट्दै गएको जानकारी दिँदै ती बालबालिका सङ्क्रमण मुक्त भएका उल्लेख गरे ।