Odapalika - The Fourth Estate - चौथो अंग
कोशीमा बजेट अध्यादेश जारी 

विराटनगर । कोशी प्रदेश सरकारले सिफारिस गरेको बजेटसम्बन्धी दुई अध्यादेश प्रदेश प्रमुख पर्शुराम खापुङले आइतबार जारी गरेका छन् ।

कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८०/८१ का लागि ल्याएको अध्यादेश प्रदेशसभाबाट पारित नभई निष्क्रिय भएको थियो । सोही अध्यादेशलाई पुनः जारी गरिएको हो ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार बसेको बैठकले प्रदेश आर्थिक अध्यादेश २०८० र स्रोतगत तथा कार्यक्रमगत विवरणसहितको विनियोजन अध्यादेश २०८० जारी गर्न प्रदेश प्रमुख खापुङसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।

गत जेठ ३१ गते जारी दुबै अध्यादेश भदौ १० गते निष्क्रिय भएका थिए । यसअघि नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापा नेतृत्वको सरकारलाई सर्वोच्च अदालतले कामचलाउमा परिणत गर्दै दीर्घकालीन महत्वका निर्णय नगर्न आदेश दिएको थियो ।

अदालतको उक्त आदेशपछि १० भदौबाट प्रदेश बजेट शून्यताको अवस्थामा गएको थियो । दुई दिनअघि एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की नेतृत्वको सरकार बनेपछि पुनः अध्यादेश जारी भएको हो ।
 

प्रकाशित मिति: आइतबार, भदौ २४, २०८०  १४:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update