
काठमाडौँ । अभिनेत्री स्वस्तिमा खड्काले उदयमान क्रिकेटर विपिन शर्मालाई आइफोन उपहार दिएकी छन् । हालै सम्पन्न नेपाल प्रिमियर लिग (एनपीएल)मा कर्णाली याक्सबाट खेलेका विपिनलाई अभिनेत्री स्वस्तिमाले क्रिसमसको अवसर पारेर आइफोन उपहार दिएकी हुन् ।
जिमी नीशम, मार्टिन गप्टिल, आन्द्रेस गौसजस्ता विश्व चर्चित खेलाडीहरूलाई आउट गरेर आफ्नो शानदार क्षमता देखाएका १६ वर्षीय विपिनले ‘उदयमान खेलाडी’को पुरस्कार पाएका थिए ।
उनै विपिनलाई आइफोन उपहार दिँदै स्वस्तिमाले शुभकामना सन्देश पनि लेखेकी छन् । ‘प्यारो विपिन भाइ, एनपीएलमा पाएको सफलताका लागि धेरैधेरै बधाई, यो फोन तिम्रो मेहेनत र प्रदर्शनका लागि एउटा प्रशंसाको चिनोको रूपमा रहेको छ । भविष्यका लागि थप सफलताको शुभकामना,’ विपिनका लागि स्वस्तिमाले लेखेका शुभकामना सन्देशमा उल्लेख छ ।
शुभकामना सन्देशसहित आइफोन उपहार पाएपछि सामाजिक सञ्जाल इन्सटाग्राममार्फत् विपिनले स्वस्तिमालाई धन्यवाद दिएका छन् । धन्यवाद दिएको विपिनको इन्सटाग्रामको स्टोरीलाई स्वस्तिमाले पनि सेयर गरेकी छन् ।
फेस अब कर्णाली याक्समा स्वस्तिमा अनुबन्धित थिइन् ।