Odapalika - The Fourth Estate - चौथो अंग
२५ हजार घुस लिने ट्राफिक प्रहरीविरुद्ध भ्रष्टाचारको मुद्दा 

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा पक्राउ परेका जिल्ला ट्राफिक प्रहरी कार्यालय रोल्पाका प्रमुख तथा प्रहरी नायव निरीक्षक (सई) ललितकुमार बुढाथोकीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

अख्तियारले बिहीबार प्रहरी नायव निरीक्षक बुढाथोकीविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता गरेको अख्तियार प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए । 

उनका अनुसार बुढाथोकीले सवारी साधनलाई आवत/जावत गर्न सहजीकरण गरिदिएवापत सेवाग्राहीसँग २५ हजार रुपैयाँ घुस लिएको पुष्टि भएकाले मुद्दा दर्ता गरिएको हो ।  

घुस मागेको सूचना पाएपछि पुगेको अख्तियारको सम्पर्क कार्यालय नेपालगञ्जको टोलीले उनलाई सेवाग्राहीबाट २५ हजार रुपैयाँ घुस लिएको अवस्थामा पक्राउ गरेको थियो ।

प्रहरी नायव निरीक्षक बुढाथोकीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा २५ हजार बिगो मागदाबी गरेर मुद्दा दर्ता गरिएको छ । 
 

प्रकाशित मिति: बिहीबार, पुस ११, २०८१  १६:३३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update