
काठमाडौँ । चिनियाँ ह्याकरहरुको नियन्त्रणमा पुग्दा बिगत केही दिनयता काठमाडौँ महानगरपालिका बाहेक देशभरका सबै स्थानीय तहको वेवसाइट बन्द छन् ।
ह्याकरको नियन्त्रणबाट आफ्नो नियन्त्रणमा ल्याइसकेको दाबी गरेपनि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अहिलेसम्म स्थानीय तहको वेवसाइट संचालनमा ल्याउन सकेको छैन ।
यहीबेला देशभरका स्थानीय तहमार्फत राखिने जन्म, मृत्यु, विवाह, बसाइँसराई, सम्वन्ध बिच्छेदलगायतका तथ्यांक अभिलेखको कामसमेत प्रभावित भएको छ ।
यी तथ्यांक राख्ने सरकारी वेवसाइटमा समस्या देखिएपछि हाल देशभरका स्थानीय तहमा सफ्टवेयरमार्फत अनलाईन तथ्यांक अभिलेख गर्ने काम ठप्प भएका छन् ।
तथ्यांकको डिजिटल अभिलेख राख्ने online.donidcr.gov.np मा प्राविधिक समस्या आएका कारण घटना विवरण अद्यावधिक गर्न र तथ्यांक अभिलेखित गर्न समस्या भएको स्थानीय तहमा कार्यरत पञ्जिकाधिकारीहरुले बताएका छन् ।
उनीहरुले सूचना नै जारी गरेर केही समयका लागि सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता प्रणालीमा समस्या आएकाले सेवा प्रवाहमा अवरोध आएको भन्दै क्षमायाचनासहितको सूचनासमेत जारी गरेका छन् ।
यो प्रणालीमा जन्म, मृत्यु, विवाह, सम्वन्ध बिच्छेद र बसाइसराइको तथ्यांकलाई हरेक वर्ष र हरेक महिना जनिने गरी राख्ने गरिन्छ । तर अनलाइन प्रणालीमा समस्या आएपछि अहिले यी पञ्जिकरण सम्वन्धी काम लिएर वडा कार्यालय पुग्ने सेवाग्राही मर्कामा परेका छन् ।