Odapalika - The Fourth Estate - चौथो अंग
भोलिदेखि देशभर पानी पर्ने, हिउँ कहाँ–कहाँ पर्छ ?
फाइल तस्बिर

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले शुक्रबार दिउँसोदेखि देशका अधिकांश स्थानमा पानी पर्ने जनाएको छ । बिहीबार विशेष सूचना जारी गरेर विमागले पश्चिमी न्यून चापीय प्रणालीका कारण शुक्रबार दिउँसोबाट देशका अधिकांश स्थानमा पानी पर्ने जानकारी दिएको हो ।

विभागका अनुसार शनिबारसम्म पानी पर्ने सम्भावना छ । विभागका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशका धेरै स्थानहरू र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावन रहेको छ । साथै गण्डकी, बागमती, मधेश र कोशी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको विभागको भनाइ छ ।

पानी परेसँगै बढ्ने चिसोका कारण सुदूरपश्चिम, कर्णाली, गण्डकी र बागमती प्रदेशमा हिमपातको सम्भावना रहेको विभागले जनाएको छ । विभागका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका अधिकांश स्थानहरूमा तथा गण्डकी प्रदेश, बागमती प्रदेश र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा हल्का देखि मध्यम हिमपात हुने सम्भावना छ ।

वर्षा र हिमपातका कारण बढ्ने चिसोबाट जोगिन पनि विभागले आग्रह गरेको छ । ‘वर्षा, हिमपात तथा चिसोका कारण दैनिक जनजीवन, स्वास्थ्य, पर्वतारोहण, हवाइ/यातायात लगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकोले आवश्यक सतर्कता अपनाउन विभागले अपील गरेको छ । 
 

प्रकाशित मिति: बिहीबार, पुस ११, २०८१  १७:१३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update