काभ्रे । असोज दोस्रो साताको बाडी र पहिरोको कारण धेरै क्षति भएको पनौती नगरपालिकाले यस अगाबै स्वीकृत गरेको विकास बजेट कटौती गरेको छ।
यसअघि नगरसभाले स्वीकृत गरेको विकास बजेट ५७ करोड ७३ लाख ७५ हजार रुपैयाँमा आज बसेको १६ औ नगरसभाले बजेट ४६ करोड रुपैयाँ कटौती गरेर ११ करोड रुपैयाँ कायम गरेको छ ।
नगरपालिकाभर बाढी र पहिरोबाट १९ जनाले ज्यान गुमाएका थिए भने ५८६ घर पूर्ण क्षति तथा ९४४ घरमा आंशिक क्षति पुगेको थियो । यस्तै, कृषितर्फ ४५ करोड १७ लाख ६ हजार रुपैयाँभन्दा बढीको क्षति भएको तथ्यांक संकलन भएको छ । सो बाढी तथा पहिरोको कारण विधालय, सिंचाई, सडक र मेलम्चीपछि ठुलो मानिएको काभ्रे उपत्यका एकीकृत खानेपानी, धुलिखेल खानेपानी, निजी निवास र निजी सम्पति गरी अर्बाैंको क्षति भएको नगरपालिकाले बताउँदै आएको छ ।
१६ औ नगरसभालाई जनप्रतिनिधिले नगरको क्षति र पुनःस्थापनालाई ध्यानाकर्षण गराएका थिए। मेयर रामशरण भण्डारीले नगर विकासको लागि सबै पक्षलाई अपिल भएको जानकारी दिदै पुननिर्माण र पुनस्थापनमा सिंगो नगरपालिका एक भएर अघि बढेको बताए ।
उनले नगरपालिकामा खानी कि पानी भन्ने बहस सुरु भएको आफूले पनि सुनेको भन्दै उनले नगरपालिकाले खानी र पानी दुबैलाई सँगै लाने पहल गरेको बताए । पनौती नगरपालिकामा ढुंगा खानीले प्रभाव पारेको र खानी बन्द गरेमा मात्रै खानेपानीका स्रोतको संरक्षण हुन सक्ने भन्दै ढुंगा तथा क्रसर खानी बन्द गरिनु पर्ने आवाज पनि उठ्न थालेका छन् ।
नगरसभाले सम्पत्ति करमा छुट दिने खोलाको मापदण्ड तय गर्ने साधारण निर्माणमुखी रोडा ढुंगा उधोगहरुबाट प्रयोग भएका जग्गामा चालु आबको करमा ५० प्रतिशत छुट दिने र अहिलेसम्म कर बुझाइसकेका नागरिकको हकमा पनि अर्को आबमा विल रसिदका आधारमा अर्को आबमा समेत कायम गरिने निर्णय गरेको छ ।