Odapalika - The Fourth Estate - चौथो अंग
दोस्रो दिन जारी बयानमा न्यायाधिशसमक्ष के भनिरहेका छन् रवि ?

काठमाडौँ । पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण अभियोग लगाइएको छ । गत आइतबार जिल्ला सरकारी वकिलको कार्यालयले रविविरुद्ध कास्की जिल्ला अदालतमा उक्त अभियोगसहितको पत्र दर्ता गरेको छ । 

सरकारी वकिलको कार्यालयले रविसहित ४४ जनाविरुद्ध सहकारी ठगीसहित कसुरमा अभियोग दर्ता गरेको हो । सोमबारबाटै कास्की जिल्ला अदालतमा बयान सुरु भयो । तर, रवि लामिछानेको भने बिहीबारबाट बयान सुरु भएको हो । जिल्ला न्यायाधीश नीतिज राईको इजलासमा रविसहित प्रतिवादीको बयान भएको छ । 

बिहीबार आफूमाथिको अभियोगलाई अस्वीकार गर्दै बयान दिएका रवि शुक्रबार पनि सोही बयान दोहोर्‍याइरहेका छन् । आफूमाथि लगाइएको अभियोगमा इन्कारी बयान दिँदै राज्यले प्रतिशोध साँधेको बयान इजलासमा रवि दिइरहेका छन् । 

कात्तिक २ गते पक्राउ परेर न्यायिक हिरासतमा रहँदा पनि उनले आफूमाथि लगाइएको आरोप अस्वीकार गर्दै खण्डन गरेका थिए । अहिले जिल्ला अदालतको इजलासमा पनि रविले अभियोगबारे सोधिएका प्रश्नको जवाफ दिँदै इन्कारी बयान दिइरहेका छन् । 

पोखराको सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा गत आइतबार रविसहित ४४ जनाविरुद्ध सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराध कसुरमा अभियोग दर्ता भएको थियो । सोमबारबाट प्रतिवादीहरुको बयान लिन सुरु गरिएको हो ।

प्रतिवादी छविलाल जोशी र लीला पछाइको बयान सकिएपछि बिहीबारदेखि रविको बयान सुरु भएको हो । सबै प्रतिवादीहरूको बयान सकिएपछि थुनछेकको बहस हुनेछ ।

प्रकाशित मिति: शुक्रबार, पुस १२, २०८१  १४:३०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update