Odapalika - The Fourth Estate - चौथो अंग
नक्कली डाक्टरको कूकर्म : बिरामी जाँच्न घर–घर जाने, बेहोस बनाएर लुटपाट गर्ने 

काठमाडौँ । काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले नक्कली डाक्टर बनेर लुटपाटमा संलग्न भएको आरोपमा एकजनालाई पक्राउ गरेको छ । 

काठमाडौँ उपत्यका अपराध अनुसन्धान शाखा ललितपुरबाट खटिएको प्रहरी टोलीले नुवाकोटको पञ्चकन्या गाउँपालिक–४ आरुखर्कबाट नक्कली डाक्टर बनेर लुटापाट गरेको आरोपमा जितेन्द्र मण्डललाई पक्राउ गरेको प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए । 

उनका अनुसार पक्राउ परेका मण्डलले पीडितलाई सामाजिक सञ्जालमार्फत साथी बनाई आफू डाक्टर रहेको भन्दै लुटपाट गर्ने गरेको हो । 

पीडित घरमा गई  सुगर रोगीको उपचार गर्छु भन्दै औषधि खुवाई बेहोस बनाएर कोठाभित्र रहेका सुन तथा चाँदीका गरगहनासहित नगद नै उनले चोर्ने गरेको उपरीक्षक आचार्यले बताए । 

सिक्री, औँठी, झुम्का, टप, मंगलसुत्रलगायत सुनको गरहना र नगद तीन लाख रुपैयाँ चोरी भएको घटनाको अनुसन्धानका क्रममा मण्डलको संलग्नता देखिएको भन्दै प्रहरीले पक्राउ गरेको हो ।

चोरी भएको घटनाको सम्बन्धमा प्रारम्भिक अनुसन्धान गर्दा घटनास्थलमा रहेको सीसीटीभी फुटेजका आधारमा मण्डलको पहिचान गरी पक्राउ गरेर आवश्यक अनुसन्धान र कारबाहीका लागि प्रहरी वृत सातदोबाटो पठाएको उपरीक्षक आचार्यले जानकारी दिए । 
 

प्रकाशित मिति: शुक्रबार, पुस १२, २०८१  १५:००
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update