Odapalika - The Fourth Estate - चौथो अंग
आधा शताब्दीअघि सरकारले लुटेको जग्गा हो तीनकुने, अझै मुआब्जा दिने सुरसार छैन : मेयर बालेन 

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले तीनकुने जग्गाको मुआब्जा दिने सुरसार नभएकोमा केन्द्र सरकारप्रत्ति आक्रोश व्यक्त गरेका छन् । 

तीनकुनेमा शुक्रबार आयोजित कोटेश्वर महोत्सवलाई सम्बोधन गर्दै मेयर बालेनले सरकारले ५० वर्षअघि अधिग्रहण गरेको तीनकुनेको जग्गाको मुआब्जा दिन सरकारले कुनै प्रक्रिया नै नचालेकोप्रति आक्रोश व्यक्त गरेका हुन् । आधा शताब्दीअघि अधिग्रहण गरेर जग्गाधनीलाई मुआब्जा नदिएपछि उनले ‘सरकारले जग्गा लुटेको’ शब्द प्रयोग गर्दै मुआब्जा दिनुपर्ने बताए । 

वर्तमान दुई तिहाइ प्राप्त सरकारले समेत मुआब्जा दिने प्रक्रियासमेत नचालेको भन्दै उनले भने, ‘५०औँ वर्षदेखि मुआब्जा पाउनुभएको छैन । कमजोर सरकार हुँदा अपोजिसनले मान्छ कि मान्दैन भन्ने हुन्थ्यो । तर, यसपालि दुईतिहाइको सरकार छ, त्यही पनि केही गरेकै छैन । कुनै पनि प्रोसेस भएको छैन । व्यक्तिको जग्गा लुटेर राखिएको स्थान हो यो । यहाँको मुआब्जा दिनका लागि कुनै प्रक्रिया भएको छैन । चाँडै होस् भन्ने शुभकामना मात्रै दिनसक्छ ।’

आफ्नो उमेरभन्दा बढी समयदेखि तीनकुनेका जग्गा धनीले मुआब्जा कुरेको मेयर शाहको भनाइ छ । 

तीनकुनेमा रहेको ४६ रोपनी जग्गामध्ये २१ रोपनीको मुआब्जा वितरण भइसके पनि २५ रोपनी जग्गाको मुआब्जा दिन बाँकी छ । तर, २५ रोपनी जग्गाका धनीले सरकारले दिने मुआब्जा रकम कम भएको भन्दै विरोध जनाउँदै आएका छन् । उनीहरुले चलनचल्तीको भाउअनुसार मुआब्जा पाउनुपर्ने माग राख्दै आएका छन् । 
 

प्रकाशित मिति: शुक्रबार, पुस १२, २०८१  १६:५३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update