भक्तपुर । काठमाडौँ उपत्यकाको मध्य भागमा पर्छ मध्यपुर थिमि नगरपालिका । ६ वटा प्राचीन बस्तीहरु थिमि, नगदेश, वोडे, तिगानी, निकोसेरा र लोकन्थली क्षेत्र समेटिएको यो सिंगो क्षेत्र हो मध्यपुर थिमि नगरपालिका ।
मध्यपुर थिमिका यिनै प्राचीन लिच्छविकालीन बस्तीको सांस्कृतिक, सामाजिक, धार्मिक, ऐतिहासिक र व्यापारिक पक्षलाई उजागर गर्न यतिवेला महोत्सव चलिरहेको छ । मध्यपुर थिमि महोत्सव नाम दिइएको यो महोत्सवमा परम्परागत विस्का जात्राका साथै पुलुकिसी भइला, महाकाली अष्टमात्रिका, लाखे, नागाचा, सलाचा, साया, इन्द्र अप्सरा, घिन्ताङघिसि जस्ता नाच र नौबाजालगायतका बाजागाजाको प्रर्दशन जारी छन् ।
नयाँ ठिमी चोकमा रहेको शंखधर साख्वाको सालिक हुँदै परम्परागत नेवारी बस्तीमा छिरेपछि सुरु हुन्छ मध्यपुर महोत्सवको रौनक । जात्रामा परम्परागत बाजा, खानपान, नृत्य, वेषभुषादेखि लिएर खानाका विभिन्न परिकारहरुले बेग्लै मज्जा थप्छन् । १२ पुस देखि १४ पुससम्म ३ दिन चल्ने यो महोत्सवमा स्थानीय सरकारको पहलमा स्थानीय क्लव, समूहहरुले गरेको व्यवस्थापन निकै लोभलाग्दो देखिन्छ ।
मध्यपुर महोत्सवका आकर्षण हेर्न मुख्य ४ स्थान पुग्नैपर्छ । बालकुमारीका विभिन्न ९ स्थान, चपाचोका ४ स्थान, नगदेशका ६ स्थान र बोडे क्षेत्रका ६ स्थानमा राखिएका परम्परागत स्टल, वाद्यवादन, खानपान, नृत्य, परम्परागत जात्रा, वेशभुषा, माटोका भाडासहितका सेरासम्वन्धि कलाले मध्यपुर थिमिको मौलिकता वुझ्न थप मद्धत गर्छ ।
मध्यपुरको ऐतिहासिक र सांस्कृतिक पक्षका विषयमा युवा पुस्तालाई जानकारी र आकर्षित गर्न महोत्सव सफल हुने विश्वास छ मध्यपुर थिमिका जनप्रतिनिधिहरुको पनि ।
मध्यपुर थिमिमा बसोबास गर्ने नेवारी समुदायका आफ्नै खाले मौलिक पेशा छन् । यमरी, चटामरीलगायतका विभिन्न खानाका परिकार, स्थानीय स्तरमा उत्पादन गरिएका घरेलु मदिरा, घरेलु सीप, माटाका भाडाकुडा बनाउने सीपले मात्र होइन, यहाँका अनुशासित स्थानीयको न्यानो आतिथ्यले पनि मध्यपुरलाई चिनाउन महत्वपूर्ण योगदान गरेको छ ।
महोत्सवका नाममा आधुनिक शैलीका सांगीतिक प्रस्तुति, खानपान र वेशभुषातर्फ आकर्षित गराइरहेका अन्य स्थानीय तहका लागि मध्यपुर थिमि एउटा गतिलो उदाहरण हो । यो महोत्वस पुग्ने र नजिकबाट नियाल्ने जो कसैले पनि भन्नेछन्– महोत्सव होस त मध्यपुरको जस्तो ।
नेवारी संस्कृति, परम्परा, रहनसहन, मनोरञ्जन र खानपानको मज्जा लिन तपाइँ पनि जाने होइन त मध्यपुर महोत्सव ?