काठमाडौँ । सहकारी ठगीसहितको अभियोग लागेका पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेको बयान सकिएको छ ।
कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासमा दुई दिन रविको बयान भएको हो । रविसँग बिहीबार र शुक्रबार बयान लिइएको हो । यसबीचमा न्यायाधीश राईले अभियोगसँग सम्बन्धित प्रश्नहरु गरेका थिए । जसको जवाफ दिँदै रविले अभियोग इन्कार गरेका छन् ।
बिहीबार आफूमाथिको अभियोगलाई अस्वीकार गर्दै बयान दिएका रवि शुक्रबार पनि सोही बयान दोहोर्याए । आफूमाथि लगाइएको अभियोगमा इन्कारी बयान दिँदै राज्यले प्रतिशोध साँधेको बयान इजलासमा रवि दिएका छन् ।
कात्तिक २ गते पक्राउ परेर न्यायिक हिरासतमा रहँदा पनि उनले आफूमाथि लगाइएको आरोप अस्वीकार गर्दै खण्डन गरेका थिए । जिल्ला अदालतको इजलासमा पनि रविले अभियोगबारे सोधिएका प्रश्नको जवाफ दिँदै इन्कारी बयान दिएका हुन् ।
प्रतिवादी छविलाल जोशी र लीला पछाईको बयान लिइसकेको छ । हालसम्म छवि, लीला र रविको बयान सकिएको छ । सबै प्रतिवादीहरूको बयान सकिएपछि थुनछेकको बहस हुनेछ ।