
काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को अर्धवार्षिक समीक्षा अगावै काठमाडौँ महानगरपालिकाले बजेट संशोधन प्रक्रिया सुरु गरेको छ । काठमाडौँ महानगरपालिका नगरसभाको १६औँ अधिवेशनमा उपमेयर सुनिता डंगोलले चालु आवको बजेटको कार्यक्रम तथा बजेटको संशोधन प्रस्ताव पेस गरेकी हुन् ।
महानगरपालिकाको वार्षिक खरिद योजना र चौमासिक प्रगति विवरणअनुसार चालु आर्थिक वर्षको स्वीकृत नीति तथा कार्यक्रमअनुसार लक्ष्य हासिल गर्न केही कार्यक्रमहरु हेरफेर गर्न आवश्यक परेको भन्दै बजेट संशोधन प्रस्ताव गरिएको हो ।
संशोधित प्रस्तावअनुसार आर्थिक विकासको क्षेत्रमा बजेट घटाएर ७२ करोड ४३ लाख ७१ हजार रुपैयाँ बजेट कायम गर्न लागिएको छ । सो क्षेत्रमा यस अघि ७२ करोड ९९ लाख ७१ हजार रुपैयाँ विनियोजन भएको थियो ।
कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रमा तीन अर्ब ७० करोड ५३ लाख ८ हजार रुपैयाँ विनियोजन भएकोमा त्यसलाई बढाएर तीन अर्ब ७२ करोड ६८ लाख ४२ हजार रुपैयाँ कायम गर्ने प्रस्ताव गरिएको छ ।
पूर्वाधार विकासको क्षेत्रमा १२ अर्ब एक करोड ९३ लाख ९१ हजार ५०० रुपैयाँ बराबर वार्षिक विनियोजन रहेकोमा त्यसलाई घटाएर११ अर्ब ८७ करोड ५१ लाख ३८ हजार ५०० रुपैयाँ कायम गर्ने प्रस्ताव गरिएको छ ।
सामाजिक विकासका क्षेत्रमा यसअघि पाँच अर्ब ४८ करोड ८६ लाख ६९ हजार ५०० रुपैयाँ विनियोजन भएकोमा त्यसलाई घटाएर पाँच अर्ब ३५ करोड ३३ लाख ८८ हजार ५०० रुपैयाँ कायम गर्ने प्रस्ताव गरिएको छ ।
त्यसैगरी, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रमा चालु आर्थिक वर्षका लागि २ अर्ब २२ करोड ६५ लाख ८५ हजार रुपैयाँ बराबर बजेट कायम गर्ने प्रस्ताव महानगरले गरेको छ । उक्त क्षेत्रमा यस अघि दुई अर्ब ९६ करोड २९ लाख ८५ हजार रुपैयाँ विनियोजन भएको थियो ।