Odapalika - The Fourth Estate - चौथो अंग
छिन्नमस्ता गाउँपालिका बालविवाह मुक्त घोषणा

सप्तरी । छिन्नमस्ता गाउँपालिकाले बालविवाह मुक्त घोषणा गर्दै समाज रूपान्तरणको दिशामा ऐतिहासिक कदम चालेको छ । मधेस प्रदेशका १३६ स्थानीय तहहरूमध्ये छिन्नमस्ता बालविवाह मुक्त हुने तेस्रो पालिका भएको छ ।

बालविवाह मुक्त घोषणा कार्यक्रममा मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह प्रमुख अतिथिका रूपमा सहभागी थिए । उनले बालविवाह अन्त्यको यो महत्त्वपूर्ण उपलब्धिलाई सामाजिक न्याय र प्रगतितर्फको प्रेरणादायी पहलको रूपमा लिनुपर्ने बताए ।

मुख्यमन्त्री सतिशकुमार सिंहले बालबालिकाको जीवनस्तर सुधार र महिलाहरूलाई सशक्त बनाउन सामूहिक प्रयासको महत्त्वमा जोड दिए । छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरीले बालविवाह मुक्त हुन सामुदायिक सहभागिताबिना सम्भव नहुने बताए । 

बालविवाहले बालबालिकाको शिक्षा, स्वास्थ्य, र जीवनका अवसरहरूमा गम्भीर असर पु¥याउँदै आएको छ। बालिकाहरू सानो उमेरमै आमा बन्नुपर्ने बाध्यता र शिक्षाबाट वञ्चित हुने समस्याबाट पीडित थिए भने बालकहरू चाँडै जिम्मेवारीको बोझले थिचिनुपर्ने र आफ्नो क्षमता प्रकट गर्नबाट वञ्चित हुने अवस्थाबाट गुज्रिरहेका थिए। यो घोषणा केवल बालविवाह अन्त्यको उत्सव मात्र नभई समाजको भविष्यप्रतिको प्रतिबद्धताको सुरुआत हो।

गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरीले यो घोषणासँगै बालबालिकाको भविष्य सुनिश्चित गर्न थप योजनाहरू अघि बढाउने प्रतिबद्धता जनाए । ‘अब हाम्रो ध्यान बालबालिकाको क्षमता विकास, शिक्षाको पहुँच विस्तार, र परिवारको आर्थिक सशक्तीकरणतर्फ केन्द्रित हुनेछ । हामी सबै मिलेर यस सफलतालाई दीर्घकालीन परिवर्तनमा बदल्ने प्रयास गर्नेछौं,’ उनले भने । 

वडाध्यक्षहरूले पनि यो सफलताप्रति गर्व व्यक्त गर्दै समुदायलाई अझ सशक्त बनाउन निरन्तर सहयोग पुर्‍याउने प्रतिबद्धता जनाए।

प्रकाशित मिति: आइतबार, पुस १४, २०८१  १७:२८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update