कास्की । पोखराको सूर्यदर्शन सहकारी ठगीसहित कसुरमा अभियोग लागेका ६ जना प्रतिवादीको बयान सकिएको छ । कास्की जिल्ला अदालतमा भइरहेको बयानमा आइतबार एकैदिन तीन प्रतिवादीको बयान लिइएको हो ।
न्यायाधीश नीतिज राईको एकल इजलासमा आइतबार प्रतिवादीहरु रामबहादुर खनाल, मीना गुरुङ र कृष्णबहादुर गुरुङको बयान सकिएको हो । यसअघि पूर्वडीआईजी जविलाल जोशी, लीला पछाईं र पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेको बयान लिइसकेको छ ।
रविसहित केहीमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण अभियोग लगाइएको छ । अभियोग दर्ता भएको भोलिपल्ट पुस ८ गते सोमबारबाटै कास्की जिल्ला अदालतमा बयान सुरु भयो ।
हालसम्म ६ प्रतिवादीको बयान सकिँदा आरती गुरूङ, ललितबहादुर गुरूङको बयान लिन बाँकी छ । उनीहरुको बयान सकिएपछि मात्र रवि लामिछानेसहितका प्रतिवादीको थुनछेक बहस हुनेछ । थुनछेक बहस सकिएपछि मात्र अदालतले प्रतिवादीलाई पुर्पक्षका लागि थुनामा पठाउने वा धरौटीमा रिहा गर्ने वा साधारण तारेखमा रिहा गर्ने भन्ने आदेश दिनेछ ।