काठमाडौँ । पुस १४ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौँ उपत्यकामै पर्ने नागार्जुन नगरपालिकाका मेयर मोहन बहादुर बस्नेतविरुद्ध भ्रष्टाचार र सम्पत्ती शुद्धीकरण अभियोगमा मुद्दा दायर गर्यो ।
मेयर बस्नेतले कारोबार कम देखाएर राजस्व छलिमा भूमिका खेलेको, घुस खाएको जस्ता अभियोग लगाएको छ । र, अख्तियारले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख भएको अर्काे तथ्य के पनि छ भने मेयर बस्नेतले बैंकिङ माध्यमबाटै घुस खाएका छन् ।
मेयर बस्नेतलाई घुस खुवाउने व्यक्ति हुन् पद्मा कोलोनीका एक मालिक राजुप्रसाद कंडेल । उनले जगतगुरु कृपालु महाराजको नाममा प्रतिष्ठान खोलेर त्यसैको आडमा घुस खुवाउने गरेका अख्तियारको आरोप छ ।
अख्तियारले दिएको जानकारी अनुसार पद्मा कोलोनीका मालिक राजुप्रसाद कंडेलले जगतगुरु कृपालु प्रतिष्ठान नेपाल खोल्छन् । उनी सो प्रतिष्ठानको अध्यक्ष भएका हुन्छन् । अख्तियारका अनुसार कंडेल अध्यक्ष रहेको प्रतिष्ठानले मेयर बस्नेतलाई एनएमबि बैंकमार्फत २३ कारोबारबाट ५ करोड ३६ लाख ६८ लाख रुपैयाँ घुस खुवाएको छ । यस्तै, मेयर कंडेलकी श्रीमती उर्मिला बस्नेतले २ वटा कारोबारबाट एनएमबि बैंकमार्फत नै ९२ लाख रुपैयाँ घुस लिएकी छिन् ।
मेयर बस्नेतले व्यवसायी कंडेलसँग घुस खान सुरु गरेको २०७४ सालको साउनदेखि हो । बस्नेत २०७४ को बैशाख ३१ गते भएको स्थानीय तहको निर्वाचनमा मेयरमा निर्वाचित भएका थिए । उनी नेपाली कांग्रेसको तर्फकबाट उम्मेदवार भएर निर्वाचित भएका थिए । यस्तै, २०७९ को स्थानीय तह निर्वाचनमा पनि बस्नेत नै मेयरमा निर्वाचित भएका थिए ।
अख्तियारका अनुसार मेयर बस्नेतले कंडेलसँग पहिलो पटक २०७४ साउन ९ गते तत्कालिन सनराज बैंकबाट १० लाख रुपैयाँ घुस खाएका थिए । त्यसपछि उनले एनएमबि बैंकमा रहेको आफ्नो खातामार्फत घुस खान्छन् । र, उनले घुसको अन्तिम किस्ता २०७८ साल फागुन २ गते लिएको अख्तियारको विवरणमा उल्लेख छ । २०७९ को बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा पनि बस्नेत उम्मेदवार बनेर निर्वाचित भएका थिए ।