काठमाडौँ । नागार्जुन नगरपालिकाका मेयर मोहन बस्नेतविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण कसुरको मुद्दा भएसँगै उपमेयर सुशीला अधिकारीले कार्यवाहक मेयरको जिम्मेवारी पाएकी छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार बस्नेतविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण कसुरमा विशेष अदालतमा मुद्दा दर्ता गरेको छ । मुद्दा दर्ता भएसँगै बस्नेत मेयर पदबाट निलम्बनमा परेका छन् भने उपमेयरले स्वतः कार्यवाहक मेयरको जिम्मेवारी पाएकी छन् ।
निलम्बित मेयर बस्नेतविरुद्ध २२ करोडभन्दा माथि बिगोसहित भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता भएको छ ।
२०७९ सालमा भएको स्थानीय तह निर्वाचनमा दोस्रोपटक मेयरमा निर्वाचित भएका कांग्रेस बागमती प्रदेश कार्य समितिका निर्वाचित उपसभापति बस्नेतमाथि भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको अभियोग लागेको हो ।
उनी मेयर पदबाट निलम्बनमा परेसँगै एमालेबाट दोस्रोपटक उपमेयरमा निर्वाचित अधिकारीले अब नागार्जुन नगरपालिकाको बागडोर सम्हाल्ने भएकी छन् ।