
नुवाकोट । दुप्चेश्वर गाउँपालिकाले स्थानीय किसानले उत्पादन गरेको किवीलाई किनेर प्रशोसन गरी जाम र वाइन बनाएर बजारीकरण गरेको छ । गाउँपालिकाको प्राविधिक सहयोगमा किवीबाट जाम र वाइन बनाएर बजारीकरण पनि गरिरहेको छ ।
दुप्चेश्वर गाउँपालिकाले ‘पोस्ट हार्भेस्ट मूल्य शृङ्खला अभिवृद्धि कार्यक्रम’मार्फत वडा नं. २ कडेनीका किवी प्रशोधन गरेर जाम र वाइन बनाउन थालिएको हो । गाउँपालिकाका अनुसार बजारमा फलभन्दा जाम उत्पादन गरेर बिक्री गर्दा किसानले दोब्बर बढी आम्दानी पाइरहेका छन् ।
किवीको बिक्रीबाट किसानले प्रतिकेजी २५० रुपैयाँसम्म पाएका छन् । सोही परिणामको किवीको प्रशोधन गरेर तयार गरिएको जामबाट दोब्बर लाभ लिएका छन् ।
गाउँपालिकाले किवीको ग्रेडिङ गरेर जाम र वाइन बनाउन किसानलाई आवश्यक प्राविधिक सहयोग उपलब्ध गराइएको छ ।
किवीको आकारअनुसार स्तर निर्धारण (ग्रेडिङ) गर्दै ठूला र आकर्षक फल बिक्रीका लागि बजार पठाइन्छ भने बाँकीलाई उपभोक्ताको मागअनुसार जाम र वाइन बनाउने गरिएको छ ।
यसका लागि गाउँपालिकाले किसानलाई तालिम र प्राविधिक सहयोग गरेको छ ।
गाउँपालिकाले आउँदो वर्षदेखि जुस, सुकुटी, क्याण्डी, अचारलगायतको उत्पादनलाई प्रयोगमा ल्याउने लक्ष्य लिइएको छ ।