झापा । पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गिरीबन्धु टी–इस्टेटको फाइल खोलेर प्रधानमन्त्री केपी शर्मा ओलीको बद्मासी पर्दाफास गर्ने चेतावनी दिएका छन् ।
प्रधानमन्त्री ओलीको गृहजिल्ला झापामा सोमबार आयोजित माओवादीको खबरदारीसभा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले गिरीबन्धु टी–इस्टेट प्रकरणको फाइल खोलेर छाड्ने बताएका हुन् । गिरीबन्धु प्रकरणको फाइल खोलेर एमाले अध्यक्ष ओलीले गरेको बद्मासीको पर्दाफास गर्ने प्रचण्डको चेतावनी छ ।
गिरीबन्धुको मात्र होइन ओम्नी, वाइडबडीको पनि फाइल खोल्ने चेतावनी दिएका प्रचण्डले भने, ‘गिरीबन्धु टी–इस्टेटमा उहाँले गरेको बद्मासीलाई पर्दाफास गरेरै छाड्छु । गिरीबन्धु ओम्नी, वाइड बडीको फाइल खोल्छु ।’
भ्रष्टाचारको फाइलहरु खोल्न थालेपछि कांग्रेस र एमालेले आफ्नो सरकार ढालेको आरोप लगाएका प्रचण्डले भ्रष्टाचारको सुई कांग्रेस र एमालेको हेडक्वार्टरतिर सोझिएपछि आफूलाई सरकारबाट हटाएको बताए ।
‘मेरो सुई गिरीबन्धुतिर जाँदै थियो । त्यहाँ जानु भनेको ओलीतिर जाने भनेको हो । बेचन झा गिरफ्तार भइसकेपछि सुई अर्कोतिर पनि सोझियो । यो भ्रष्टाचारीलाई जोगाउन बनेको सरकार हो,’ प्रचण्डले भने ।