Odapalika - The Fourth Estate - चौथो अंग
काठमाडौं तराई–मधेश द्रुतमार्गः  २६ प्रतिशत काम सकियो, सुरु बिन्दुमै ल्याङल्याङ  

काठमाडौँ । नेपाली सेनाले काठमाडौं तराई–मधेश द्रुतमार्ग निर्माणमा अहिलेसम्म २६ दशमलव १४ प्रतिशत प्रगति भएको जानकारी दिएको छ । 

जंगी अड्डामा आयोजित पत्रकार सम्मेलनमा नेपाली सेनाले आर्थिक वर्ष २०८०÷०८१ को साउनामसान्त सम्म द्रुतमार्ग निर्माणको प्रगति २६ दशमलव १४ प्रतिशत रहेको जानकारी दिएको हो । 

आयोजनाको करिव ९५ प्रतिशत प्याकेजहरु कार्यान्वयन तथा खरिद प्रक्रियामा प्रवेश गरिसकेको जनाएको सेनाले खोकना इलाकामा द्रुतमार्गको शुरु बिन्दु निर्धारण, सवारी आवागमन व्यवस्थापन सम्बन्धि निर्णय र जग्गा अधिग्रहण विवाद समाधानपछि खरिद प्रक्रिया शुरु गर्ने गरी तयारी हालतमा  रहेको आयोजना प्रमुख प्राविधिक उपरथी कमलविक्रम शाहले जानकारी दिए ।

त्यस्तै हालसम्म निर्माणाधिन तीनवटा सुरुङ्गमार्गहरुको जम्मा लम्बाई ६.४१५ किलोमिटर मध्ये २.६६७ किलोमिटर अर्थात ४१.५७ प्रतिशत सुरुङ निर्माण कार्य सम्पन्न भएको सेनाले जनाएको छ । 

महादेवटार सुरुङ्गमार्गको जम्मा लम्बाई ३.३५५ किलोमिटर मध्ये हालसम्म १.३८७ किलोमिटर सुरुङ्ग निर्माण कार्य सम्पन्न भएको बताइएको छ ।

आयोजनाको समष्टिगत कार्ययोजना अन्र्तगतका ११ वटा कलस्टर मध्ये ७ वटा सम्पन्न भएको सेनाले जनाएको छ । 

आयोजनाको समष्टिगत वित्तिय प्रगति मोबिलाइजेशनसहित २८ दशमलव ११ प्रतिशत रहेको सेनाले जनाएको छ । आयोजनाअन्तर्गत तीनवटा सुरुङहरुको जम्मा लम्बाइ ६ दशमलव ४१५ किलोमिटरमध्ये २ दशमलव ६६७ किलोमिटर अर्थात ४१ दशमलव ५७ प्रतिशत काम भएको सेनाले जनाएको छ ।

सेनाले सैनिक कल्याणकारी कोषमा २०८० असार मसान्तसम्ममा ७१ अर्ब ५ करोड ६१ लाख रुपैयाँजम्मा भएको जनाएको छ । कोषमा यस वर्ष १३.३४ प्रतिशत अर्थात् ८ अर्ब ३६ करोड ७२ लाखले वृद्धि भएको हो । 

कोषको यथार्थ सम्पत्ति ७७ अर्ब ६१ करोड १ लाख रुपैयाँ पुगेको जनाएको छ । त्यसमध्ये ६ अर्ब ५५ करोड ४० लाख रुपैयाँ कोषले विभिन्न क्षेत्रमा लगानी गरेको छ ।

नेपाली सेनाको जंगीअड्डामा आइतबार आयोजित पत्रकार सम्मेलनमा सैनिककल्याणकारी निर्देशनालयका सहायक रथी किरण केसीले २०७९ असार मसान्तसम्म कोषको नगद मौज्दात ६२ अर्ब ६८ करोड ८९ लाख रहेकोमा यस वर्ष ८ अर्ब ३६ करोड ७२ लाखले वृद्धि भएको बताए । 

सेनाको मौज्दातमध्ये विघटनमा गएको युनाइटेड विकास बैंकको सम्पत्ति बाँकी नरहेकाले कोषले प्राप्त गर्नुपर्ने मध्ये एक करोड ५७ लाख रुपैयाँ असुली उच्च जोखिममा रहेको पनि सेनाले जनाएको छ । १० वर्षअघि सेनाको कोषमा २३ अर्ब रुपैयाँ थियो ।

प्रकाशित मिति: सोमबार, भदौ २५, २०८०  ०७:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update