Odapalika - The Fourth Estate - चौथो अंग
वैकल्पिक राजनीतिबारे बाबुराम  र सोविताबीच छलफल

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका संयोजक डा. बाबुराम भट्टराई र रास्वपाकी सांसद सोविता गौतमबीच वैकल्पिक राजनीतिबारे छलफल भएको छ । 

भट्टराई निवासमा पुगेकी रास्वपा सांसद गौतम र डा. भट्टराईबीच वैकल्पिक राजनीतिकबारे छलफल भएको हो । रास्वपा सांसद सोवितासँग वैकल्पिक राजनीतिसहितका विषयमा छलफल भएको डा. भट्टराईले जानकारी दिएका छन् । ्

सोवितासँग देशको अर्थ–राजनीतिक अवस्था, वैकल्पिक राजनीतिको औचित्य लगायतका विषयमा छलफल भएको उनले बताए । 

डा. भट्टराईलाई भेट्न सोविता पति गृहेन्द्र घिमिरेसहित भट्टराई निवास पुगेकी हुन् । यसबारे जानकारी दिँदै सामाजिक सञ्जालमा भट्टराईले लेखेका छन्, ‘रास्वपा युवा सांसद सोबिता गौतम र युवा उद्यमी गृहेन्द्र घिमिरे दम्पत्तीसँग देशको अर्थ–राजनीतिक अवस्था, वैकल्पिक राजनीतिको औचित्य लगायत विविध विषयमा उपयोगी विमर्श ।’ 

सहकारी संस्थाको बचत रकम हिनामिना प्रकरणमा सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोगमा रास्वपाका सभापति रवि लामिछाने प्रहरीको हिरासतमा रहेर कानुनी संघर्ष गरिरहेका छन् । सरकारी वकिल र अदालतमा लामिछानेले आफूविरुद्ध सरकार लागेको र कुनै पनि कानुनविपरीत कार्य नगरेको भन्दै अभियोगबारे इनकारी बयान दिएका छन् । यही बेला वैकल्पिक राजनीतिकाबारेमा छलफल गर्न सोविता भट्टराई निवास पुगेकी हुन् ।  
 

प्रकाशित मिति: मंगलबार, पुस १६, २०८१  १२:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update