Odapalika - The Fourth Estate - चौथो अंग
रवि लामिछानेसहित प्रतिवादी पुर्पक्षका लागि जेल चलान हुन्छन् कि रिहा ? सुरु भयो थुनछेक बहस

कास्की । पोखराको सूर्यदर्शन सहकारी ठगीसहित कसुरमा अभियोग लागेका प्रतिवादीको बयान सकिएसँगै थुनछेक बहस सुरु भएको छ ।

यही पुस ७ गते सहकारीको रकम ठगी प्रकरणमा सरकारी वकिलको कार्यालयले पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेसहित ४४ जनाविरुद्ध सहकारी ठगीसहित कसुरमा अभियोग दर्ता गरेको थियो । रविसहित केहीमाथि प्रतिवादीमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण अभियोग लगाइएको छ । 

पुस ८ गतेबाट कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको एकल इजलासमा प्रतिवादीको बयान सकिएसँगै थुनछेक बहस सुरु भएको हो । थुनछेक बहस सकिएपछि अदालतले प्रतिवादीलाई पुर्पक्षका लागि थुनामा पठाउने वा धरौटीमा रिहा गर्ने वा साधारण तारेखमा रिहा गर्ने भन्ने आदेश दिनेछ । 

प्रतिवादीहरु रवि लामिछाने, पूर्वडीआईजी छविलाल जोशी, लीला पछाईं, रामप्रसाद खनाल, मिना गुरूङ, आरती गुरूङ र कृष्णबहादुर गुरूङको बयान सकिएपछि थुनछेक बहस सुरु गरिएको हो । 

‍थुनछेक बहसमा सरकारी वकिल र सहकारी पीडितका कानुन व्यवसायीले अभियुक्तहरूलाई थुनामा राखेर मुद्दा अघि बढाउनुपर्ने बहस गर्नेछन् भने प्रतिवादीका तर्फबाट वकालत गर्ने कानुन व्यवसायीहरूले प्रतिवादीलाई धरौटी वा तारेखमा छाडेर मुद्दा अघि बढाउन पाउनुपर्ने माग गर्नेछन् । 

प्रकाशित मिति: मंगलबार, पुस १६, २०८१  १६:०७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update