काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सभापति शेरबहादुर देउवालाई पुनः सभापति बन्न विधानले नदिने बताएका छन् ।
काठमाडौँमा मंगलबार पूर्वकर्मचारी समाज नेपालले गरेको कार्यक्रममा महामन्त्री शर्माले दुई पटकसम्म सभापति र पाँच पटकसम्म प्रधानमन्त्री बनेका देउवालाई पुनः सभापति बन्न पार्टीको विधानले नदिने बताएका हुन् ।
‘सभापतिजी विस्तारै रिटायर्ड हुने क्रममा हुनुहुन्छ । विधानअनुसार अब उहाँ महाधिवेशनमा प्रतिस्पर्धा गर्न पाउनु हुन्न, पाँचपटक त प्रधानमन्त्रीको भारी बोकिसक्नुभयो,’ उनले भने ।
सभापति अवकाशमा जाने लागेका बेला प्रधानमन्त्री बन्न दृढतापूर्वक उभिनेको पार्टीमा अभाव देखेको बताउँदै उनले भने, ‘पाँचचोटि प्रधानमन्त्री भएका सभापतिजीलाई गाह्रो भइसकेको होला, म भारी बोकिदिन्छु भनेर सुरिनेहरूको अभाव पार्टीभित्र देखिरहेको छु। दिएदेखि खाउँला भन्ने हुँदैन, म बन्छु प्रधानमन्त्री भनेर दृढतापूर्वक उभिन सक्नुपर्छ।’
आफू प्रधानमन्त्री र सभापतिका लागि तत्काल दाबेदार नरहेको बताउँदै उनले हालसम्म मन्त्रीसमेत नबनेको र बन्ने इच्छासमेत नराखेको बताए ।