Odapalika - The Fourth Estate - चौथो अंग
अवैध उत्खनन रोक्ने अधिकृतलाई कारबाही, अनुगमनमा जानुअघि अनुमति लिन अध्यक्षको उर्दी

काठमाडौँ । मोरङको ग्रामथान गाउँपालिका आन्तरिक विवादमा फसेको छ । आफूलाई जानकारी नै नदिई अवैध उत्खनन रोक्न प्रहरीलाई पत्र लेखेको भन्दै अध्यक्ष नमोनारायण माझीले प्रमुख प्रशासकीय अधिकृत रामराज पौडेललाई स्पष्टीकरण सोधेपछि पालिका आन्तरिक विवादमा फसेको हो ।  

यही पुस ८ गते प्रमुख प्रशासकीय अधिकृत पौडेलले गैरकानुनी रुपमा भइरहेको उत्खनन रोक्न भन्दै झोराहाटमा रहेको प्रहरी कार्यालयलाई पत्र लेखेका थिए ।

‘ग्रामथान गाउँपालिका वडा नं. २ अन्तर्गतका विभिन्न नहर, सडकलगायतका सार्वजनिक स्थलबाट गैरकानुनी रूपले माटो उत्खनन भइरहेको भन्ने जनगुनासो आएको तथा गाउँपालिकाबाट अनुगमन गर्दा समेत उत्खनन भएको पाइएकोले त्यस प्रकारको गैरकानूनी उत्खनन कार्य रोकी उत्खनन कार्यमा संलग्न सवारीसाधनहरू नियन्त्रणमा लिई दिनुहुन अनुरोध छ,’ प्रमुख प्रशासकीय अधिकृत पौडेले प्रहरीलाई लेखेको पत्रमा उल्लेख छ । 

प्रमुख प्रशासकीय अधिकृत पौडेलले प्रहरीलाई पठाएको पत्र र यसपछि अध्यक्ष माझीले प्रमुख प्रशासकीय अधिकृत पौडेलसँग स्पष्टीकरण सोधेपछि गाउँपालिकाभित्रको विवाद छताछुल्ल भएको हो । गैरकानुनी रुपमा भइरहेको उत्खनन रोक्न प्रहरीलाई पत्र लेखेकै आधारमा कारबाही गर्ने अध्यक्ष माझीको चेतावनीले जनप्रतिनिधि र कर्मचारीबीच तिक्तता बढाएको छ । प्रमुख प्रशासकीय अधिकृत पौडेलले आफूलाई जानकारी नदिई अवैध उत्खनन रोक्न प्रहरीलाई पत्र लेखेकाले स्पष्टीकरण सोधेको अध्यक्ष माझीको भनाइ छ  । अध्यक्ष माझीले यही पुस ११ गते स्पष्टीकरण सोधेका थिए । 

‘यस ग्रामथान गाउँपालिकाबाट मिति २०८१÷०९÷०८ गतेको दिन चं. नं. १०१५, मिति २०८१–०९–०८ को गैरकानूनी उत्खनन कार्य रोक्का गर्ने सम्बन्धमा प्रहरी चौकी, झोराहाटलाई काटिएको पत्र के–कति कारणले काटिएको हो ? स्पष्ट खुलाई दिन हुन जानकारीको लागि अनुरोध छ,’ अध्यक्ष माझीले सोधेको स्पष्टीकरणको पत्रमा उल्लेख छ । 

स्पष्टीकरणको जवाफ नदिएका प्रमुख प्रशासकीय अधिकृत पौडेललाई कारबाही गर्ने अध्यक्ष माझीले चेतावनीसमेत दिएका छन् । मंगलबार विराटनगरमा पत्रकार सम्मेलन गरेर माझीले ग्रामथान गाउँपालिका–२ मा भइरहेको अवैध उत्खनन रोक्नेलाई कारबाही गर्ने चेतावनी दिएका हुन् ।

स्पष्टीकरणको हालसम्म जवाफ आइनसकेको र  जवाफ चित्तबुझ्दो जवाफ नआए कारबाही गर्ने प्रमुख प्रशासकीय अधिकृतलाई चेतावनी दिँदै अध्यक्ष माझीले भने, ‘अवैध उत्खनन रोक्नु हुँदैन । रोक्नेलाई कारबाही हुन्छ । स्पष्टीकरणको जवाफ आइसकेको छैन। जवाफ आएपछि कारबाहीबारे टुंगो लाग्नेछ।’

आफूलाई संविधानले नै शासन व्यवस्था गर्ने अधिकार दिएको भन्दै अध्यक्ष माझीले भने, ‘सरकार प्रमुखको हिसाबले ग्रामथान गाउँपालिकाको काम कारबाहीको जिम्मा मेरो हो, प्रमुख प्रशासकीय अधिकृत त मेरो मातहतमा हो नि, मलाई नै जानकारी नदिने ।’

जनप्रतिनिधिकै सल्लाहमा प्रमुख प्रशासकीय अधिकृतले अवैध उत्खनन रोक्न प्रहरीलाई पत्राचार गरेको गाउँपालिका उपाध्यक्ष गुणावती थारूले सार्वजनिक रुपमा बताएकी छन् । 

अनुगमनमा जाँखा अग्रिम सूचना चाहिने 

ग्रामथान गाउँपालिका अध्यक्ष नमोनारायण माझीले अनुमगनमा जानुअघि आफूलाई पूर्वसूचना दिन उपाध्यक्ष गुणावती थारूलाई निर्देशन दिएका छन् । उपाध्यक्षको काम कर्तव्य र अधिकारलाई नै बन्देज लाउने गरी आmूलाई सोधेरमात्र अनुगमनमा जान उपाध्यक्ष थारूलाई निर्देशन दिएका हुन् ।
 

प्रकाशित मिति: बुधबार, पुस १७, २०८१  १३:२४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update