काठमाडौँ । संसदीय समितिले तत्काल गुठी विधेयक ल्याउन सरकारलाई निर्देशन दिएको छ । बुधबार बसेको राष्ट्रिय सभाको संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार तथा समन्वय समितिले तत्काल गुठी विधेयक ल्याउन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई निर्देशन दिएको हो ।
बैठकको अन्तिममा समिति सभापति सोनाम गेल्जेन शेर्पाले समितिको निर्णय सुनाउँदै तत्काल गुठी विधेयक ल्याउन निर्देशन दिएका हुन् ।
मन्त्रालयसँगको छलफलपछि सभापति शेर्पाले समस्या समाधान गर्न जतिसक्दो चाँडो गुठी विधेयक ल्याउन दिएको निर्देशनलाई समितिले अनुमोदन गरेको छ ।
छलफलमा सहभागी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले देशभरका गुठीको जग्गा सरकारले खोजिरहेको जानकारी गराउँदै गुठीको संरचना र जग्गा खोजेर आवश्यक नीति तय गर्ने सरकारको योजना रहेको बताए ।