Odapalika - The Fourth Estate - चौथो अंग
लिखु गाउँपालिकाको कार्यक्रमः मरुमराउमा अध्यक्षले दिन्छन् ५ हजार, गर्भवती भेट्न उपाध्यक्ष जान्छन् भाले बोकेर

काठमाडौँ । ओखलढुंगाको लिखु गाउँपालिकाले मृत्यू संस्कारमा गाउँपालिकाको तर्फबाट समवेदना पत्रसहित नगद सहयोग गर्ने कार्यक्रम सुरु गरेको छ ।

गाउँपालिकाले चालु आर्थिक वर्षको बजेटमार्फत यस्तो कार्यक्रम सुरु गरेको गाउँपालिका अध्यक्ष अशोककुमार कार्कीले जानकारी दिए । मृत्यू संस्कारको समयमा परिवारमा परेको पीडामा थोरै भएपनि आर्थिक सहयोग गर्ने र सहानुभूति प्रदान गर्ने उदेश्यले यस्तो कार्यक्रम ल्याइएको उनले जानकारी दिए ।

‘चालु आर्थिक वर्षको बजेटमार्फत मृत्यू संस्कारमा गाउँपालिकाको तर्फबाट समवेदना पत्रसहित नगद सहयोग गर्ने कार्यक्रम सुरु गरिएको हो, पीडाको समयमा थोरै भएपनि आर्थिक सहयोग गर्ने र सहानुभूति प्रदान गर्ने उदेश्यले यस्तो कार्यक्रम राखिएको हो,’ अध्यक्ष कार्कीले वडापालिकासँग भने ।

उनले गत साउनदेखि नै यस्तो कार्यक्रम कार्यान्वयन हुने बताए । कसैको घरमा मरुभागु परे्को छ भने गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख प्रशासकीय अधिकृत सहितको टोलीले सम्बन्धित घरपरिवारमा पुगेर समवेदना पत्र दिने र नगद हस्तान्तरण गर्ने उनले जानकारी दिए ।

‘हरेक घरपरिवारको सबैभन्दा नजिकको सरकार भनेको वडाध्यक्षहरु हुन्, त्यसैले वडाध्यक्ष चै अनिवार्य रुपमा हुनै पर्छ भनेर व्यवस्था मिलाएका छौं । अध्यक्ष, उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत लगायतकाहरु भने सम्भव नभएको समयमा नहुन पनि सक्ने अवस्था रहन्छ,’ अध्यक्ष कार्कीले भने ।

यो कार्यक्रम गाउँपालिकाले सबै वडाहरुमा संचालन गरेको छ । यसका लागि ४ लाख ५० हजार रुपैयाँ बजेट पनि विनियोजन गरिएको छ । गाउँपालिकाले आन्तरिक स्रोतबाट बजेट व्यवस्था गरी यो कार्यक्रम सुरु गरेको हो ।

गर्भवती भेट्न भाले बोकेर उपाध्यक्ष जाने 

लिखु गाउँपालिकाले गर्भवती महिला र नवजात शिशुको स्वास्थ्यमा विशेष ध्यान दिन सोसम्बन्धी कार्यक्रम पनि ल्याएको छ । गाउँपालिकाका उपाध्यक्षले स्वास्थ्य सामग्री, लत्ताकपडा र भालेसहित लिएर गर्भवतीलाई भेट्न जाने कार्यक्रम ल्याएको हो ।

‘गर्भवतीलाई भेट्न जाने भएपछि स्वास्थ्य सामग्री र पोषणयुक्त खाना आवश्यक पर्छ नै, त्यसैले एउटा भाले पनि लिएर जाने भन्ने योजना बनाएका छौं । भाले नखानेहरुलाई खसीको मासु वा अन्य सामाग्री खरिद गर्न रकम दिने सोच बनाएका छौं । यो कार्यक्रम पनि साउन १ गतेदेखि नै लागू हुन्छ, यद्यपि, अहिले हामी यसको कार्यविधि बनाइरहेका छौं,’ अध्यक्ष कार्कीले भने ।

यो कार्यक्रमका लागि गाउँपालिकाले चालु आर्थिक वर्षको बजेटमा ३ लाख रुपैयाँ विनियोजन गरेको छ । यो रकम गाउँपालिकाले संघीय सरकारबाट उपलब्ध हुने समानिकरण अनुदानबाट जुटाएको हो । कार्यविधिलाई अन्तिम रुप दिएर कार्यान्वयनमा लगिहाल्ने योजना बनाइएको अध्यक्ष कार्कीले बताए ।

डोजरमाभन्दा उद्योग खोल्नमा जोड

गाउँपालिकाले दीर्घकालिन फाइदा हुनेगरी बजेट खर्च गर्ने नीति अवलम्बन गरेको छ । प्रत्येक वर्ष खनिएका सडक वर्षाको पानीले फेरि उस्तै हुने र लगानी पनि बढी हुने भएकोले दीर्घकालिन फाइदा हुने प्रकृतिका कार्यक्रम संचालन गर्न लागिएको अध्यक्ष कार्कीले जानकारी दिए ।

‘हिउँदमा डोजर चलाएर बनाएको बाटो वर्षा लागेपछि फेरि उस्तै हुन्छ, अर्काे वर्ष फेरि बजेट हालेर सफा गर्नुपर्छ । त्यसैले अलि दीर्घकालिन उपलब्धि हुने प्रकृतिका काम गरौं कि भन्ने लागेको छ । गाउँपालिकाले स्यानिटरी प्याडमा वर्सेनि धेरै रकम खर्च गरिरहेको छ । यसपालि केही बजेट छुट्टयाएर स्यानिटरी प्याड उद्योग खोल्ने उदेश्य राखेका छौं, हेरौं कत्तिको सफल भइन्छ,’ अध्यक्ष कार्कीले भने ।

आफ्नो पालिकाभित्र स्यानिटरी प्याड उद्योग स्थापना गर्नको लागि गाउँपालिकाले करिब १४ लाख रुपैयाँ बजेटको जाहो गरेको छ । यसमध्ये संघीय समानिकरण अनुदानबाट ९ लाख ४२ हजार, आन्तरिक स्रोतबाट ९५ हजार, प्रदेश समानिकरण अनुदानबाट १ लाख ९७ हजार र प्रदेश राजस्व बाँडफाँडबाट १ लाख ६६ हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

‘उद्योग स्थापनाको कार्यविधि बनाउँदै छौं । निजी क्षेत्रको पनि साझेदारीमा काम गर्ने कि गाउँपालिकाले मात्रै लगानी गरेर उद्योग स्थापना गर्ने भन्नेमा अझै छलफल चलिरहेको छ । स्यानिटरी प्याड उत्पादन गर्ने उद्योग स्थापना गर्न सके यो गाउँपालिकामा मात्रै नभएर अन्य गाउँपालिकामा पनि विक्री गर्न सकिने अवस्था देखेका छौं,’ अध्यक्ष कार्कीले भने ।

प्रकाशित मिति: सोमबार, भदौ २५, २०८०  १२:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update