
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले सबै राजनीतिज्ञको सम्पत्ति छानबिन गर्न शक्तिशाली आयोग बनाउन प्रस्ताव गरेका छन् ।
बिहीबार बसेको संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले सबै राजनीतिज्ञको सम्पत्ति छानबिन गर्न शक्तिशाली आयोग बनाउन मौखिक प्रस्ताव गरेका हुन् ।
सत्ताबाट बाहिरिएपछि नेताहरुले भ्रष्टाचारको फाइल खोल्ने अभिव्यक्ति दिने गरेकाले अब सबैको सम्पत्ति छानबिन गर्न आयोग बनाउन प्रस्ताव गरेका उनले भने, ‘शक्तिशाली आयोग बनाऔं । सबैको सम्पत्ति छानबिन गरौं । हामी सबैको गरौं । बाहिर यो वा त्यो भ्रष्टाचारको फाइल खोल्नुपर्छ नभनिरहौँ ।’
प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्रीद्वय शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा भ्रष्टाचारका कुन कुन फाइल खोल्ने भनेर छलफल गर्नुपर्ने भन्दै उनले अन्यथा समाजमा सबै नेताहरू कुनै न कुनै भ्रष्टाचारमा संलग्न रहेको पर्न जाने बताए ।