सप्तरी । सप्तरीको डाक्नेश्वरी नगरपालिका–१ का वडाध्यक्ष धीरेन्द्रकुमार साहविरुद्ध मुद्दा दर्ता गरिएको छ । गत मंसिर १६ गते भएको स्थानीय तहको उपनिर्वाचनमा वडाध्यक्षमा निर्वाचित साह शपथ लिँदालिँदै पक्राउ परेका थिए ।
इलाका प्रहरी कार्यालय कल्याणपुरको अनुसन्धान प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकिल कार्यालय सप्तरीले साहविरुद्ध सप्तरी जिल्ला अदालतमा उनीविरुद्ध मुद्दा दर्ता गरेको हो ।
बलात्कारको अभियोगमा मुलुकी फौजदारी अपराध संहिताको दफा २१९ (१) र (२) बमोजिमको कसुर गरेको भन्दै दफा २१९ (३) (ङ) बमोजिमको १० वर्षसम्मको कैद सजाय मागदाबी गरिएको छ ।
त्यस्तै, सामूहिक बलात्कारको अभियोगमा मुलुकी फौजदारी अपराध संहिताका दफा २१९ (७) बमोजिम थप ५ वर्ष कैद सजाय माग दाबी गरिएको छ । जसअनुसार उनीविरुद्ध बलात्कारको कसुरमा १५ वर्ष कैद सजाय मागदाबी गरिएको छ ।
बलात्कृत युवतीको मृत्यु भएकाले कर्तव्य ज्यानको कसुरमा जन्मकैदको सजाय मागदाबी गरिएको छ । जसमा २५ वर्ष कैद सजाय हुने हुने व्यवस्था छ । दायर अभियोगपत्रमा बलात्कारपछि हत्या कसुरमा साहविरुद्ध ४० वर्ष कैद साजय मागदाबी गरिएको छ ।
उनीविरुद्ध व्यक्ति अपहरण गरी बेपत्ता पारेको अभियोग पनि लगाइएको छ । सो अभियोगमा पनि थप सजायको माग गरिएको छ । अपहरण गरी व्यक्ति बेपत्ता पार्नेलाई १५ वर्षसम्म कैद र ५ लाख रुपैयाँ जरिवाना हुने व्यवस्था छ ।