Odapalika - The Fourth Estate - चौथो अंग
अध्यक्ष बन्नुअघि नै कार्यपालिका छिरेर जनप्रतिनिधि कुट्थे माझी, अधिकृतमाथि पोखे १० महिनाअघिको रिस

काठमाडौँ । मोरङको ग्रामथान गाउँपालिकामा अनौठो दृश्य देखिएको छ । गाउँपालिका अध्यक्ष नमोनारायण माझीले प्रमुख प्रशासकीय अधिकृत रामराज पौडेललाई स्पष्टिकरण सोधेपछि ग्रामथान गाउँपालिकामा विवाद देखिएको हो ।

आफूलाई थाहै नदिई अबैध उत्खनन् रोक्न पत्र लेखेको अभियोगमा अध्यक्ष माझीले प्रमुख प्रशासकीय अधिकृत पौडेललाई स्पष्टिकरण सोधेका हुन् । यद्यपि, पौडेलले स्पष्टिकरणको जवाफ भने बुझाएका छैनन् ।

पुस ८ गते प्रमुख प्रशासकीय अधिकृत पौडेलले गैरकानुनी रुपमा भइरहेको उत्खनन रोक्न भन्दै झोराहाटमा रहेको प्रहरी कार्यालयलाई पत्र लेखेका थिए ।

‘ग्रामथान गाउँपालिका वडा नं. २ अन्तर्गतका विभिन्न नहर, सडकलगायतका सार्वजनिक स्थलबाट गैरकानुनी रूपले माटो उत्खनन् भइरहेको भन्ने जनगुनासो आएको तथा गाउँपालिकाबाट अनुगमन गर्दा समेत उत्खनन् भएको पाइएकोले त्यस प्रकारको गैरकानूनी उत्खनन कार्य रोकी उत्खनन् कार्यमा संलग्न सवारीसाधनहरू नियन्त्रणमा लिई दिनुहुन अनुरोध छ,’ प्रमुख प्रशासकीय अधिकृत पौडेले प्रहरीलाई लेखेको पत्रमा उल्लेख छ । 

तर, प्रमुख प्रशासकीय अधिकृत पौडेलले अबैध उत्खनन् रोक्न गरेको प्रयास अध्यक्ष माझीलाई चित्त बुझेन । अनि उनले प्रमुख प्रशासकीय अधिकृत पौडेलसँग स्पष्टिकरण सोधे । अध्यक्ष माझीले पुस ११ गते स्पष्टीकरण सोधेका थिए । 

‘यस ग्रामथान गाउँपालिकाबाट मिति २०८१/०९/०८ गतेको दिन चं. नं. १०१५, मिति २०८१–०९–०८ को गैरकानूनी उत्खनन कार्य रोक्का गर्ने सम्बन्धमा प्रहरी चौकी, झोराहाटलाई काटिएको पत्र के–कति कारणले काटिएको हो ? स्पष्ट खुलाई दिन हुन जानकारीको लागि अनुरोध छ,’ अध्यक्ष माझीले सोधेको स्पष्टीकरणको पत्रमा उल्लेख छ । 

स्पष्टीकरणको जवाफ नदिए प्रमुख प्रशासकीय अधिकृत पौडेललाई कारबाही गर्ने अध्यक्ष माझीले चेतावनीसमेत दिएका छन् । मंगलबार विराटनगरमा पत्रकार सम्मेलन गरेर माझीले ग्रामथान गाउँपालिका–२ मा भइरहेको अवैध उत्खनन रोक्नेलाई कारबाही गर्ने चेतावनी दिएका थिए ।

स्पष्टीकरणको हालसम्म जवाफ आइनसकेको र  जवाफ चित्तबुझ्दो जवाफ नआए कारबाही गर्ने प्रमुख प्रशासकीय अधिकृतलाई चेतावनी दिँदै अध्यक्ष माझीले भने, ‘उत्खनन् रोक्नु हुँदैन । रोक्नेलाई कारबाही हुन्छ । स्पष्टीकरणको जवाफ आइसकेको छैन । जवाफ आएपछि कारबाहीबारे टुंगो लाग्नेछ ।’

अध्यक्ष माझीको पालिकासँग पुरानो दुस्मनी

माझी अध्यक्षमा निर्वाचित भएपछि गाउँपालिकाका पदाधिकारीसँग पुनारो दुस्मनी साध्न थालेका छन् । उनीविरुद्ध २०८० चैत १८ गते गाउँपालिकाले जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएको रिस उनले साध्न थालेका हुन् । माझी २०८१ मंसिर १६ गते भएको स्थानीय तह उपनिर्वाचनमा अध्यक्षमा निर्वाचित भएका हुन् ।

२०८० चैत १८ गते आइतबार ग्रामथान गाउँपालिकाको कार्यपालिका बैठक चलिरहेको थियो । सो बैठककै क्रममा माझीको नेतृत्वमा एउटा समुह कार्यपालिका बैठकस्थलमै प्रवेश गर्छ । 

माझीको नेतृत्वमा गएको समुहले कार्यवाहक अध्यक्ष गुणावतीदेवी थारु तथा कार्यपालिका सदस्यहरु बीरेन्द्र चौधरी, भेषनारायण चौधरी र रमेश भगतलाई हातपात गरेको थियो । सो समुहले हातपात गरेपछि कार्यपालिका सदस्यहरुले प्रहरी बोलाएका थिए । 

gramthan-bibad-1735822902.jpg
माझी नेतृत्वको समुहले यसरी अभद्र व्यवहार गरेपछि कार्यपालिकाले औपचारिक रुपमा नै जिल्ला प्रशासन कार्यालयमा माझीलाई कारवाहीको माग गरी निवेदन दिएको थियो । निवेदनमा अभद्र व्यवहार गर्ने माझी सहितका ९ जनालाई पक्राउ गरी अनुसन्धान गरी कानुनी कारवाही गर्न माग गरिएको छ । कार्यपालिकाले कारवाहीको माग गरे पनि उनीमाथि कारवाही भने भएको थिएन ।

बैठक बसाएनन् 

स्थानीय तह उपनिर्वाचनबाट अध्यक्षमा निर्वाचित माझी २०७९ मा भएको स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेका थिए । उनी सो समयमा नेपाली कांग्रेसले टिकट नदिएपछि बागी उम्मेदवार बनेका थिए । यद्यपि, उनी पराजित भए ।

निर्वाचनमा पराजित भएपछि माझी दलविहिन थिए । यस्तैमा गत मंसिर १६ गते भएको स्थानीय तह उपनिर्वाचनमा नेकपा माओवादी केन्द्रले उनलाई उम्मेदवार बनायो । सो क्षेत्रमा लोकप्रिय रहेका माओवादी केन्द्रका नेता अमनलाल मोदीले ‘नमोनारायणलाई भोट दिनु मलाई नै दिनु सरह हो’ भनेर स्थानीयलाई कन्भिन्स गरेपछि माझी निर्वाचित भएका स्थानीय बताउँछन् । यद्यपि, अहिले अध्यक्ष माझीको माओवादी केन्द्र र नेता मोदीसँग पनि सम्बन्धमा दरार आइसकेको बताइन्छ ।

अध्यक्षमा निर्वाचित भएको एक महिनाभन्दा लामो समय विते पनि माझीले कार्यपालिका बैठक राख्न सकेका छैनन् । आफूलाई जिल्ला प्रशासन कार्यालयमा अभद्र व्यवहारको कारवाहीका लागि निवेदन दिने कार्यपालिका सदस्यहरुसँग प्रतिशोध साध्न अध्यक्ष माझीले सुरु गरेकोले बैठकसमेत बसाल्न नसकेको बताइन्छ । कार्यपालिकासँगको यही रिस अध्यक्ष माझीले प्रमुख प्रशासकीय अधिकृतमाथि पोखेको बताइएको छ । यद्यपि, प्रमुख प्रशासकीय अधिकृत पौडेल माझीमाथि कारवाहीको लागि जिल्ला प्रशासन कार्यालयमा निवेदन दर्ता भएको समयमा सो गाउँपालिकामा थिएनन् । तर, माझी निर्वाचित हुनुअघि नै पौडेलले ग्रामथानको प्रशासकीय नेतृत्व सम्हालेका थिए । 

प्रकाशित मिति: बिहीबार, पुस १८, २०८१  १८:४७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update