काठमाडौँ । संसदको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलले ठगी आरोपमा पक्राउ पुर्जी जारी भएपछि आफ्नो स्वकीय सचिवबाट अनिलकुमार पोखरेललाई हटाएका छन् ।
ठगी आरोपमा अनिलविरुद्ध पक्राउ पुर्जी जारी भएपछि सभापति पोखरेलले संघीय संसदलाई चिठी लेखेर उनलाई स्वकीय सचिवबाट हटाएको जानकारी गराएका छन् ।
उच्च अदालत विराटनगरले उनलाई पक्राउ गरी ठगी केसमा अनुसन्धान गर्न मोरङ प्रहरीलाई परमादेश दिएको छ । एमबीबीएसको प्रवेश परीक्षामा नाम निकालिदिने भन्दै अनिलले सप्तरीका बौआलाल चौधरीसँग ३८ लाख रुपैयाँ लिएको आरोप छ ।
प्रहरीले उजुरी लिन नमानेपछि चौधरी उच्च अदालत गएका हुन् । उच्च अदालतले अनिलविरुद्ध मुद्दा दर्ता गरी अनुसन्धान गर्न र उनलाई पक्राउ गर्न मोरङ प्रहरीलाई परमादेश दिएको हो ।
ठगी आरोपमा पक्राउ पुर्जी जारी भएको समाचार बाहिर आएपछि सभापति पोखरेलले स्वकीय सचिवबाट अनिललाई हटाएका हुन् ।