काठमाडौँ । कांग्रेस महामन्त्री गगनकुमार थापाको भ्रष्टाचारको सबै फाइल खोलेर छानबिन गर्न आयोग गठन गर्ने प्रस्तावलाई रास्वपाका शिशिर खनालले समर्थन जनाएका छन् ।
बिहीबार संसदको राज्य व्यवस्था समिति बैठकमा महामन्त्री थापाले सबै राजनीतिज्ञको सम्पत्ति छानबिन गर्न शक्तिशाली आयोग बनाउन र भ्रष्टाचारका सबै फाइल खोल्न प्रस्ताव गरेका थिए ।
सत्ताबाट बाहिरिएपछि नेताहरुले भ्रष्टाचारको फाइल खोल्ने अभिव्यक्ति दिने गरेकाले अब सबैको सम्पत्ति छानबिन गर्न आयोग बनाउन प्रस्ताव गरेका उनले भनेका थिए, ‘शक्तिशाली आयोग बनाऔं । सबैको सम्पत्ति छानबिन गरौं । हामी सबैको गरौं । बाहिर यो वा त्यो भ्रष्टाचारको फाइल खोल्नुपर्छ नभनिरहौँ ।’
कांग्रेस महामन्त्री थापाको प्रस्तावप्रति रास्वपा सांसद खनाल सहमत देखिएका छन् । शुक्रबार सामाजिक सञ्जालमार्फत आफ्नो विचार सार्वजनिक गर्दै सांसद खनालले पनि भ्रष्टाचारको सबै काण्ड छानबिन गर्नुपर्ने र यसका लागि उच्चस्तरीय आयोग बनाउनुपर्ने प्रस्ताव गरेका हुन् ।