हिन्दुहरुको प्रसिद्ध तीर्थस्थल गोसाईकुण्ड । लाङटाङ हिमाल, क्यान्जिङ भ्याली, ऐतिहासिक महत्व बोकेको रसुवागढी नाका । यतिमात्र होइन् सुर्यकुण्ड, भैरवकुण्ड, दुधकुण्ड, सरस्वतीकुण्डलगायतका कुण्ड सम्झने वित्तिकै याद आउने नाम हो गोसाइकुण्ड गाउँपालिका ।
लाङटाङ राष्ट्रिय निकुञ्च, नागथली, रिभरकुण्ड, तामाङ संग्रहालय, विश्वको दुर्लभ जनावर रेडपाण्डाजस्ता पर्यटकीय पहिचान बोकको यो गाउँपालिकाका स्थानीयको प्रमुख व्यवसाय नै पर्यटन हो । त्यसपछि मात्र स्थानीयको रोजाइमा पर्छ पशुपालन, फलफुल खेती, चीज उत्पादन आदि ।
रसुवा जिल्लाको सदरमुकाम धुन्चे बजार, स्याफ्रवेशी बजार र ऐतिहासिक रसुवागढी नजिक रहेको टिमुरे बजारसमेत गोसाइकुण्ड गाउँपालिका पर्छ । यहाँको शिक्षा, स्वास्थ्य, पूर्वाधार रोजगारी जस्ता विषयमा स्थानीय तहले नै अहिलेसम्म अगुवाइ लिइरहेको छ । र यसको नेतृत्वकर्ता हुन् गाउँपालिका अध्यक्ष कैसाङ नुर्पु तामाङ ।
यिनै तामाङ नेतृत्वका ६ वटै वडाका जनप्रतिनिधिले बनाएका सुन्दर योजनाहरु सफल पार्न विगत ५ वर्षदेखि खटिएका छन् निमित्त प्रमुख प्रशासकीय अधिकृत दुतेन्द्र चाम्लिङ । अन्य स्थानीय तहमा महिनैपिचेजस्तो अधिकृत फेरिइरहने हावाले कहिल्यै छुदैन गोसाइकुण्डलाई । यहाँका कर्मचारी र जनप्रतिनिधिमा एउटै स्वार्थ र हुटहुटी छ, पालिकाबासीलाई खुसी, सुखी र सन्तुष्ट राख्ने ।
२०७४ सालको निर्वाचन जितेपछि तामाङले काम गरेकै कारण पछि फर्केर हेर्नुपरेन । २०७९ सालमा पनि जनताले उनलाई नै अनुमोदन गरे । एमालेका तर्फबाट निर्वाचन जितेपनि जितेको भोलिपल्टबाट उनले पालिकाबासीलाई कहिल्यै राजनीतिक आँखाबाट हेरेनन् । र सधै खेलिरहे अभीभावकीय भूमिका मात्र । यही भूमिकाका कारण अहिले यो पालिकामा नमूनाकै रुपमा पिएर टु पियर लर्निङ्ग एजुकेशन प्रोगाम कार्यान्वयनमा छ ।
पालिकाभरका सामुदायिक विद्यालयमा लैंगिक समानता कायम गरेर १० देखि १५ जना जेहेन्दार तथा उत्कृष्ट विद्यार्थीलाई उपत्यका लगायतका जिल्लामा सिकाईका लागी पठाउने गरिएको सुनाउँछन् अध्यक्ष कैसाङ ।
पालिकाभरका १५ सामुदायिक विद्यालयका करिब २ हजार विद्यार्थीलाई कक्षा १२ सम्म निःशुल्क पढाउने, सामुदायिक विद्यालयमा निःशुल्क बस संचालन गर्ने, पालिकाकै खर्चमा १०० जना विद्यार्थीलाई निःशुल्क होस्टेलको सुविधा दिने सम्भवत देशकै पहिलो पालिको हो गोसाइकुण्ड ।
पालिकाभरका सडक निर्माण नियमित मर्मत सम्भार, खानेपानी पूर्वाधारजस्ता काममा जनताले गुनासो गर्नु नपर्नेगरी काम भइरहेको सुनाउँछन् प्रमुख प्रशाुकीय अधिकृत दुतेन्द्र चाम्लिङ।
यहाँका ज्येष्ठ नागरिकले उपचार गर्न बाहिर जानुपरे पालिकाकै निःशुल्क एम्बुलेन्स प्रयोग गर्न त पाउँछन् नै काठमाडौँका अस्पतालहरुमा ३० प्रतिशतसम्म छुटमा उपचार हुने व्यवस्थासमेत पाकिलाले नै मिलाइदिएको छ । यो सुविधा, वालिवालिका र गर्भवती महिलाले समेत पाएका छन् ।
आन्तरिक रोजगारीका सिमित अवसर र न्युन आयका कारण बिदेश पलायनको समस्या छ पालिकामा । यसलाई रोक्न नीतिगत र कार्यगत रुपमै कम्मर कसेर लागेको बताउँछन् प्रमुख प्रशासकीय अधिकृत चाम्लिङ ।
धुन्चे गोसाइकुन्ड केवलकार निर्माणको पालिकाको योजना सफल भएमा पर्यटनले थप गति लिने विस्वास छ अध्यक्ष कैसाङको । शुन्य लागतमा शिक्षा, मेघा विद्यालयको अवधारणासँगै शिक्षा र स्वास्थ्य निःशुल्क गर्ने भिजन बोकेर पालिका अघि वढेको छ ।
स्थानयि तह निर्वाचनमा कैसाङसँग झिनो मतले पराजित नेपाली कांग्रेसका पेम्वा छिरिङ तामाङको समेत साथ लिएर अघि वढेका अध्यक्ष कैसाङ सबै दलको साथमा पालिको विकासमा जुटेको बताउँछन् । पेम्बा पनि जनप्रतिनिधिलाई काममा हौस्याइरहेकै छन् । स्थानीय जनप्रतिनिधि योजनावद्ध ढंगले अघि वढ्न सकेमा पालिकाले राखेको विद्युत, पर्यटन, पूर्वाधार र शिक्षाको आकांक्षा मात्र होइन सुसंस्कृत र समृद्ध गोसाइकुण्डको सपना चाडै पूरा देखिन्छ ।