काठमाडौँ । काठमाडौँ महानगरपालिकाको सहरी वातावरणको एकीकृत ज्ञानका लागि ‘बालबालिका तथा वातावरण– बाबा’ कार्यक्रम प्रभावकारी बनेको उपमेयर सुतिा डंगोलले बताएकी छन् ।
शनिवार काठमाडौँमा आयोजना गरिएको बाबा ‘बाबा उपसमूहअन्तर्गतका नगर स्वयमसेवकहरुलाई सम्मान र धन्यवाद ज्ञापन’ कार्यक्रमका वक्ताले कार्यक्रमबाट विद्यमान वातावरणीय अवस्थाको व्यवहारिक र वास्तविक ज्ञान प्राप्त हुने बताए ।
महानगरपालिकाले सामुदायिक विद्यालयहरुको स्वच्छताका लागि सरसफाइका कार्यक्रम चलाउन, हरियाली बढाउन तथा कलात्मक र सवाजटका क्रियाकलाप गर्न ६ महिनाका लागि ‘बाबा’ कार्यक्रमअन्तर्गत स्वयमसेवक परिचालन गरेको थियो । यो कार्यक्रममा युएसएआइडी, एफएचआइ ३६०, वाइल्ड लाइफ कन्जरभेसन नेपाल, ल्याण्ड आवर फ्युचर, क्लिन अप नेपाल, एन्फो, इनर्जी पोलिसी इन्स्टिच्युट एट द युनिभर्सिटी अफ सिकागो, एशियन इन्स्टिच्युट अफ टेक्नोलोजी, वन टु वाचलगायत संघसंस्थासँग सहकार्य गरेको थियो ।
‘स्वस्थ्य जीवनका लागि स्वच्छ वातावरणको अर्थ मैले बाबा कार्यक्रमबाट नै सिक्न पाएकी हुँ । कार्यक्रममा सहभागी हुँदा प्राप्त गरेको व्यवहारिक ज्ञान जीवनभरका लागि काम लाग्ने हुन्छ ।’ उपमेयर डंगोलले भनिन्, ‘वातावरण र मानव तथा प्राणी जीवनको अदृश्य सम्बन्ध कार्यक्रमले महसुस गराउँछ । यो सहअस्तित्व र सहभाव स्वीकार गर्ने आचरणको विकास गर्ने थलो पनि हो ।’
महानगरपालिकाले सामुदायिक विद्यालयहरुलाई हरित विद्यालयका रुपमा विकास गरिरहेको छ । महानगर सुन्दर विद्यालयका फोकल पर्सन शिक्षा अधिकृत लक्ष्मी पौडेलका अनुसार स्वचालित कार्यक्रमबाट दिगो र प्रभावकारी नतिजाका प्राप्त गर्ने गरी विभागले काम गरिरहेको छ ।
कार्यक्रममा युएसएआइडी, स्वच्छ हावा परियोजनाका चिफ अफ पार्टी भुषण तुलाधरले इको सिस्टममा समुदायको सम्बन्ध जान्नका लागि स्थानीय सरकारसँग काम गर्नुपर्ने र काठमाडौँ महानगरपालिकासँग काम गर्दा वहुपक्षीय सम्बन्ध जान्न पाइने बताए ।
विद्यालयमा काम गरेका स्वयमसेवकहरु मध्ये १५ जना विद्यार्थीहरुले आफू रहँदा देखेको परिवर्तनका बारेमा भिडियो सामग्री पठाएका थिए । ती उत्कृष्ट भिडियोमध्ये ममता खत्री, अमिता महर्जन र सुमन श्रेष्ठको भिडियोलाई विशेष प्रोत्साहन प्रदान गरिएको थियो ।
स्वयमसेवकलाई विद्यालय पढाउनु अघि उनीहरुले पूरा गर्नुपर्ने दायित्वका विषयमा तालिम प्रदान गरिएको थियो । ‘वाबा’ विद्यालय र वातावरणसँग केन्द्रीत कार्यक्रम हो । कार्यक्रमबाट स्वयमसेवकहरु आफैँलाई पनि जिम्मेवारी जान्न पाउने, नेतृत्व विकास र समूहगत कार्यको विकासमा आफू उत्प्रेरित हुने र अरुलाई उत्प्रेरित गराउन सक्ने क्षमता विकास गराइएको थियो ।
२४ हप्ताका लागि योजना गरिएको कार्यक्रममा खटिएका स्वयमसेवकले हप्तामा २ दिन समय दिएर फोकल पर्सनसँगको समन्वयमा कार्यक्रम सञ्चालन गरेका थिए । यी दुई दिनमध्ये विहीबारका दिन शुक्रबार गरिने कार्यक्रम तर्जुमा गर्ने गरिएको थियो । शुक्रबार विहीबार तर्जुमा गरिएको कार्यक्रम कार्यान्वयन गर्ने गरिएको थियो ।