Odapalika - The Fourth Estate - चौथो अंग
पिकअप नगरेको भन्दै गाउँपालिका उपाध्यक्षले तोडफोड गरिन् सरकारी गाडी, भागेर ज्यान जोगाए चालकले 

काठमाडौँ । सिराहाको विष्णुपुर गाउँपालिकाकी उपाध्यक्ष गीताकुमारी सिंहले कार्यालयमा परिसरमा रहेको सरकारी गाडी तोडफोड गरेकी छन् । आफूलाई लिन नआएको भन्दै उनले आइतबार बिहान कार्यालय परिसरमा रहेको गाडी तोडफोड गरेको गाउँपालिका अध्यक्ष सत्यनारायण यादवले जानकारी दिए । 

चालक बाबुनाथ यादव खाना खान गएको र आएपछि पठाइदिने आफूले जानकारी गराउँदा गराउँदै उपाध्यक्ष कार्यालयमा आएर गाडी तोडफोड गरेको अध्यक्ष यादवको भनाइ छ । 

‘लिन गाडी पठाइदिन भन्नुभएको थियो । अहिले चालक खाना खान गएको छ । आएपछि पठाइदिन्छु भनेको थिएँ । तर, उहाँ कार्यालयमा आएर गाडीमाथि ढुंगा इँटा हान्नु भयो,’ अध्यक्ष यादवले वडापालिकासँग भने, ‘उहाँ कार्यालय आइपुग्दा गाडी लिन जान लागेको थियो । चालक गाडीभित्रै हुँदा उहाँले तोडफोड गर्नुभयो ।’

उपाध्यक्ष सिंहले कार्यालय परिसरमा रहेको बा.२ झ ३६४३ नम्बरको गाडी तोडफोड गरेकी अध्यक्ष यादवले बताए । उपाध्यक्ष सिंहले गरेको ढुंगा र इँटा प्रहारले गाडीको अगाडि र बायाँपट्टिको सिसा फुटेको अध्यक्ष यादवको भनाइ छ ।

चालकले भागेर ज्यान जोगाए 

उपाध्यक्ष सिंहले गाडीमाथि अन्धाधुन्ध ढुंगा र इँटा प्रहार गर्दा चालक बाबुनाथ यादव सोही गाडीभित्र थिए । खाना खाएर आएपछि उपाध्यक्ष सिंहलाई लिन चालक बाबुनाथ गाडी निकाल्न खोज्दै थिए । त्यही बेला उपाध्यक्ष सिंह आएर गाडीमाथि आक्रमण गर्न थालेकी अध्यक्ष यादवले बताए । उपाध्यक्ष यादवले प्रहार गरेको ढुंंगा र इँटासहित सिसी गाडीभित्र छिरेको थियो । आक्रोशित उपाध्यक्ष सिंहले आक्रमण गरिरहेपछि गाडीभित्र रहेका चालक बाबुनाथ बल्लतल्ल बाहिर निस्किएर भागेर ज्यान जोगाएका हुन् ।  

उपाध्यक्षलाई कारबाही गरेरै छाड्ने 

गाउँपालिका अध्यक्ष यादवले उपाध्यक्ष सिंहलाई कारबाही गरेरे छाड्ने बताए । यसअघि पनि तोडफोडमा उत्रिएको र अहिले सरकारी गाडी नै तोडफोड गरेकाले अब उनलाई कारबाही गरेर छाड्ने अध्यक्ष यादवको भनाइ छ । गाडी तोडफोडबारे प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी कार्यालयलाई जानकारी गराइसकेको र इलाका प्रहरी कार्यालय विष्णुपुरबाट आएको प्रहरी टोलीले गाडीभित्रका इँटा र ढु‌गा लिएर गएकाे अध्यक्ष यादवको भनाइ छ । 

‘उहाँलाई कारबाही हुन्छ नै । यसअघि पनि तोडफोड गर्नु भएको छ । अहिले गाडी तोडफोड गर्नुभयो । यसबारे मैले प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी कार्यालयलाई जानकारी गराइसकेको छु,’ उनले भने, ‘विष्णुपुर इलाका प्रहरी कार्यालयबाट आएका प्रहरीले गाडीभित्रको ढुंगा र इँटा लिनुभएको छ ।’ 

अध्यक्ष यादजका अनुसार उपाध्यक्ष सिंहले यसअघि लेखा शाखामा योजनाको भुक्तानीका लागि तयार भएको चेक खोसेर च्यातेकी थिइन् । साथै उनले झ्याल–ढोकासमेत तोडफोड गरेकी अध्यक्ष यादवले बताए । तर, त्यतिखेर कारबाही गरेनौँ, अब उहाँलाई कारबाही गरेरे छाड्छु,’ अध्यक्ष यादवले भने । उपाध्यक्ष सिंहमाथिको कारबाहीबारे गाउँपालिकाको बैठक बसेर निर्णय गर्ने उनले जानकारी दिए । 

प्रकाशित मिति: आइतबार, पुस २१, २०८१  १७:०७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update